हिमाल दैनिक
निषेधित क्षेत्र माइतीघरमा प्रदर्शन गर्न पुगेका करिब डेढ दर्जन प्रदर्शनकारी सुरक्षा नियन्त्रणमा

काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गर्न खोज्ने निकोलस भुसाल सहित केहि युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवयुवा (जेन–जी) आन्दोलनको नाममा अघि सारिएका कतिपय माग अझै सम्बोधन नभएको भन्दै माइतिघरमा प्रदर्शनका लागि भेला भएका भुसालसहित १५ भन्दा बढि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

माइतिघरमा प्रदर्शनका लागि काठमाडौं प्रशासनले कसैलाई पनि अनुमति नदिएकाले प्रदर्शन गर्न पुग्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गत भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा नवयुवाहरुको भिड नियन्त्रण बाहिर जाँदा सुरक्षाकर्मीले चलाएको सुरक्षा कारबाहीमा १९ जनाको निधन भएपछि आन्दोलन भड्किएर उग्र रुप लिएको थियो। 

त्यसको भोलिपल्ट देशभरी नै हिंसात्मक विद्रोह हुँदा तत्कालीन सरकारले सत्ता छाडेर आत्मसुरक्षाको निति अपनाउन बाध्य भएको थियो।

उक्त आन्दोलनको राप र तापको बलमा संविधान र कानूनलाई मिच्दै गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारको गठन पश्चात पनि जेनजीको एक समूहले पनि बिहिबारका लागि तय गरेकोमा सम्भावित चुनौतीलाई ख्याल गर्दै प्रदर्शनको कार्यक्रम फिर्ता लिएको थियो।

भदौ २४ गतेको अराजकता र अन्य सुरक्षा निकायको असहयोगका कारण संगठनको अस्थित्व नै समाप्त हुने स्थितिमा पुगेको नेपाल प्रहरीको संगठन र त्यसका सदस्यहरुले विस्तारै जिम्मेवारीमा फर्किएपछि आजको प्रदर्शनमा आफ्नो उपस्थिति जनाउँदै कर्तव्य पालनाको गति अघि बढाउँन थालेको छ। 

जेनजीका नाममा हुने प्रदर्शनलाई मध्यनगर गर्दै माइतिघरदेखि बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update