हिमाल दैनिक
गण्डकी प्रदेशमा कांग्रेसले ९ सिट जित्दा पनि समानुपातिकमा अटाएनन् शुक्रराज
gandaki province seat allot
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस सबै भन्दा ठूला दल बन्न सफल भएको छ। हालै सम्पन्न निर्वाचनको प्रत्यक्ष तर्फ ३६ र समानुपातिक तर्फ २४ सिटगरी कुल ६० सिटका लागि भएको निर्वाचनमा प्रत्यक्ष तर्फ १८ सिटमा जित निकाल्न सफल कांग्रेसले समानुपातिक तर्फ ३ लाख ४९ हजार ६ सय २८ मत प्राप्त गरी जम्मा ९ सिटमा चित्त बुझाएको छ। विद्यमान कानून र तदअनुरुप निर्माण भएको निर्वाचन निर्देशिका बमोजिम कांग्रेसले प्राप्त गरेको ९ सिटमा प्रत्यक्ष तर्फ कुनै पनि महिला सदस्य निर्वाचित नभएको कारण सबै टिमा महिला सदस्य मात्रै पठाउनु पर्ने भएको छ। सिट बाँडफाँट अनुसूचिमा उल्लेखित समावेशी समूहको जनसंख्याको अनुपातमा कांग्रेसले प्राप्त गरेको ९ मध्ये ४ सिटमा आदिवासी जनजाति महिला उम्मेदवारलाई सिफारिस गर्नु पर्नेछ भने, ३ सिट खस, आर्य तथा जम्मा २ सिट दलितका लागि छुट्याउँदा बन्द सूचिमा रहेका कुनै पनि पुरुषले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्न पाउने छैनन्। गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीको आकांक्षा राख्दै पहिलो नम्बरमा रहेका गण्डकी प्रदेश कांग्रेस सभापति शुक्रराज शर्माको सपना केबल सपनामै सिमित हुने भएको छ। प्रदेश सभामा शर्माको अनुपस्थिति रहँदा गोरखाबाट निर्वाचित कांग्रेस नेता सुरेन्द्र पाण्डेलाई दलको नेता बन्न तथा मुख्यमन्त्री बन्न खासै रोकटोक नहुने स्थिति उत्पन्न भएको छ। त्यसैगरी प्रत्यक्ष तर्फ १२ सिट जितेको नेकपा एमालेले समानुपातिक तर्फ सबैभन्दा ज्यादा ३ लाख ६७ हजार ९ सय ८९ मतसहित १० सिटमा आफ्नो स्थान सुरक्षित गरेको छ। प्रत्यक्ष तर्फ २ महिला सदस्य जिताउन सफल एमालेले समानुपातिक तर्फको १० सिटमा भने केबल ५ महिला सदस्य निर्वाचित गरे हुने छ। त्यस अवस्थामा एमालेले जनजाति र खस, आर्य समूहबाट चार/चार जना र दलितबाट २ जना सदस्य निर्वाचित गराउँदा सबै समूहको आधा अर्थात ५ जना महिला अनिवार्य निर्वाचित गराउनु पर्नेछ। चार सिट प्रत्यक्षतर्फ जितेको नेकपा माओवादी केन्द्रले भने समानुपातिक तर्फ १ लाख १६ हजार ९ सय ४५ मत प्राप्त गर्दै सोही अनुपातमा जम्मा तीन सिट हात पारेको छ। यसरी प्रदेश सभामा जम्मा ७ सिटसहित तेस्रो स्थानमा रहेको माओवादीले तीन समानुपातिक सिटमध्ये कम्तिमा २ महिला र एक पुरुष पठाउनु पर्नेछ। प्रत्यक्ष तर्फ कुनै पनि सिट नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फ भने ५९ हजार ४ सय ८३ मत ल्याउँदै प्रदेश सभामा २ स्थान सुरक्षित गरेपनि ऐन र निर्देशिका बमोजिम प्रदेश सभामा १.५ प्रतिशत मत कटाएका नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाल पार्टी र राष्ट्रिय जनमोर्चाले सिट प्राप्तिका लागि चाहिने मत ल्याउन नसकेको कारण समानुपातिक तर्फ कुनै स्थान पाउन सकेका छैनन्। बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले गोरखा क्षत्र नम्बर २ को प्रदेश १ बाट फणिन्द्र देवकोटालाई जिताउन सफल भएपनि समानुपातिक तर्फ नेकपा माओवादीसँगै संयुक्त चिन्हमा चुनाव लडेको थियो। यसैगरी मनाङबाट पूर्व सांसद राजिव गुरुङ उर्फ दिपक मनाङ्गे निर्विरोध निर्वाचित भएका थिए। समानुपातिक तर्फ कांग्रेसबाट को को निर्वाचित हुँदैः आदिवासी जनजातिबाट ४ महिलाः १. बिमला गौचन २. रेखा गुरुङ ३. सरस्वती गुरुङ ४. पार्वती तामाङ खस, आर्यबाट ३ महिलाः १. सरस्वती तिवारी २. चम्पादेवी खड्का ३. कल्पना तिवारी दलितबाट २ महिला १. दिलमाया पौ. बि. २. टिका कुमारी बस्याल  
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update