हिमाल दैनिक
गण्डकीमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्र पाण्डेको दाबी, आजै नियुक्त हुँदै

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुने भएका छन्।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, यसअघि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको सरकारले प्रदेश सभामा विश्वासको मत गुमाएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको दाबी पेश गर्न आजै अपरान्ह ४ बजेसम्मका लागि दिइएको समयसीमाभित्र नेता पाण्डेले दाबी पेश गरेपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

कांग्रेस प्रदेश संसदीय दलका नेता पाण्डेले प्रदेशसभामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

पाण्डेले पेश गरेको दाबी बमोजिम प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

यसअघि केन्द्रीय सरकारमा एमालेसँगको सहमतिका आधारमा प्रदेश सभामा एमाले र माओवादीसहितको सरकार गठन भएको थियो। तर, पछि राष्ट्रपतिको निर्वाचनका क्रममा एमालेसँगको सहमति तोडेर माओवादी र कांग्रेसबीच गठबन्धन भएपछि केन्द्रदेखि प्रदेशतहसम्मै शीर्ष नेतृत्वले सरकार परिवर्तन र सत्ता भागवण्डाको सहमति गरेका थिए।

राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो। विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो।

सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो। अहिलेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनसँग सरकार बनाउन सहज बहुमत छ। साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ ९सभामुखसहित० र एकीकृत समाजवादीका एक सदस्य छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update