हिमाल दैनिक
गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पद तथा गोपनीयताको शपथग्रहण लिनुहुँदै । तस्बिरः धनबहादुर गुरुङ/रासस

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गर्नुभएको हो ।

सिम्खडा नेकपा (माओवादी केन्द्र) र तिवारी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादीका एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा  कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बन्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट निर्वाचित हुनुभएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै नेकपा ९एमाले० नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update