हिमाल दैनिक
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सङ्घीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताउनुभएको छ ।

जनकपुरधाममा आज समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने स्थिति नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्नेसमेत बताउनुभयो । चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टी समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवयश्क रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले अब ७० लागेका नेता आराम गर्नुको विकल्प नरहेको भन्दै उहाँले स्वयं आफूलगायत त्यस्ता सम्पूर्ण नेतालाई पुस्तान्तरणका लागि आह्वान गर्नुभयो ।

उहाँले समाजवादी मोर्चाका लागि पनि अब पहल सुरु हुने बताउनुभयो । माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत कुराकानी भइरहेको बताउँदै उहाँले कम्युनिष्ट आन्दोलन बचाउन मोर्चा गरिने जानकारी गराउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update