हिमाल दैनिक
विदेशी लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालको संयुक्त आयोजनामा नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ ।

लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा काठमाडौँमा सुरु भएको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

सो अवसरम प्रधानमन्त्री दाहालले अहिले सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा रहेकाले स्रोत पहिचान र लगानी अवधारणाको खोजी गर्न यो सम्मेलनले पृष्ठपोषण गर्ने बताउनुभयो ।

वित्तीय लगानीका नयाँ नयाँ स्रोत तथा अवधारणा खोज्न सम्मेलन आयोजना हुनु निकै सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

     “हाम्रो विकास लक्ष्य पूरा गर्न आवश्यक वित्तीय स्रोतको अन्तरपूर्तिका लागि लगानीको उपयुक्त अवधारणा खोजीमा यो सम्मेलन केन्द्रित हुनेछ र यसले हामीलाई मार्गदर्शन गर्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । विकासका लक्ष्य प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्य आवश्यक हुने र त्यसलाई उत्प्रेरित गर्नका लागि सरकार तत्पर रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

     सम्मेलनमा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालका लागि वित्तीय स्रोत र साधनको आवश्यकता रहेको बताउनुभयो । नेपालमा लगानीको वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता न्यून रहेको उहाँको भनाइ छ ।      

नेपालले उदार अर्थतन्त्र र लोकतान्त्रिक व्यवस्था अंगालेकाले लगानीमा समस्या नरहेको र प्रतिफल लैजान पनि समस्या नदेखिएको अर्थमन्त्री महतले उल्लेख गर्नुभयो । लगानीमैत्री वातावरणका लागि चाहिने नीतिगत र संरचनागत व्यवस्था नेपालमा रहेकोसमेत उहाँले दावी गर्नुभयो । यी क्षेत्रमा आवश्यकताअनुसार सुधार गर्न सरकार तयार रहेको अर्थमन्त्री महतको भनाइ छ ।
     
    “हाम्रो विकास आवश्यकता पूर्ति गर्न लगानीका क्षेत्र पहिचान गरिएका छन् । भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन क्षेत्रलाई लगानीको प्राथमिकतामा राखिएको छ”, अर्थमन्त्री महतले भन्नुभयो, “लगानी आवश्यकता पूर्ति गर्नका लागि कुनै नवीन वित्तीय स्रोतको अवधारणलाई हामी स्वागत गर्छौं ।”

    लगानीको वातावरण बनाउन आवश्यक नीतिगत र संरचानागत सुधारका लागि सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।
     
    निजी वैदेशिक लगानी तथा सार्वजनिक निजी साझेदारीको माध्यमबाट लगानी व्यवस्थापन गर्ने महात्वकांक्षी लक्ष्यसहित अघि बढेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताउनभुयो ।

    “लगानी बोर्डले अहिले नै ऊर्जा क्षेत्रमा ठूलो विदेशी लगानी व्यवस्थापन गरिरहेको छ । अझै पनि अबको तीन÷चार वर्षभित्र ठूलो लगानी ल्याउने लक्ष्य लिएका छौँ”, भट्टले भन्नुभयो ।

     नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गरिसक्नका लागि अहिले लगानीको ठूलो खाडल रहेको काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवम् अर्थशास्त्री प्रा डा अच्युत वाग्लेले धारणा राख्नुभयो । मुलुकको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि

    स्वदेशी स्रोत र उपकरण तथा सरकारले मात्र लगानी गरेर पनि नहुने उहाँको भनाइ छ । “दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक स्रोतको अहिले अभाव छ । यसलाई पूरा गर्नका लागि सरकार र निजी क्षेत्र मिलेर स्रोतको खोजी गर्न आवश्यक छ”, वाग्लेले भन्नुभयो ।

    सम्मेलनमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले नेपालमा लगानीको सम्भावना र आवश्यकता दुवै रहेको उल्लेख गर्नुभयो ।

    दिगो विकास लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका मुद्दा सम्बोधन र पूर्वाधार विकासका लागि लगानी आवश्यक रहेकाले नेपालले लगानीका नयाँ स्रोत खोज्नुपर्ने उहाँले बताउनुभयो ।
 
    सम्मेलनमा मुख्यगरी चारवटा विषयमा छलफल हुनेछ । पहिलो सत्रमा वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानीका विषयमा छलफल हुनेछ ।

    दोस्रो सत्रमा लगानीका लागि शासकीय व्यवस्थाका बारेमा छलफल हुनेछ । तेस्रो सत्रमा विकास परियोजनाहरूमा लगानीका उपकरणका बारेमा छलफल हुनेछ भने चौथो सत्रमा लगानी तथा वित्त परिचालनका बाधक र त्यस्ता बाधक हटाएर सहजीकरण गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने कार्यकातालिका रहेको छ ।

     सम्मेलनमा नेपालका लागि आवश्यक वित्तीय स्रोतको खोजी, अहिलेसम्मका अभ्यास र आगामी दिनमा सरकारले लिनुपर्ने नीतिका बारेमा सरोकारवालाबीच छलफल हुनेछ ।
    
    नेपालका लागि सम्भावित लगानीका उपकरण र स्रोतका बारेमा निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै ठाउँमा राखेर छलफल गर्ने उद्देश्यसहित सम्मेलन आयोजना भएको हो ।

    सम्मेलनमा सरकारी विभिन्न निकायका जिम्मेवार सरकारी अधिकारीहरू, विकास साझेदार निकायका प्रतिनिधि, अर्थशास्त्री, विकास विज्ञहरूको सहभागिता रहेको छ

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update