हिमाल दैनिक
चालु आ.व.को पहिलो ९ महिनामा बाहिरियो रु. ६७ अर्ब वैदेशिक शिक्षाका लागि

प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरुले प्रतिनिधि सभाको बैठकमा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा बिहिबार नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन्।

साथै चालु आर्थिक वर्षको पहिलो ९ महिनामा विदेशबाट ९०३ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको जानकारी पनि दाहालले दिए।

दाहालले विप्रेषणको आम्दानी गत आर्थिक वर्षको तुलनामा २४ प्रतिशत भन्दा बढी रहेको दाबी समेत गरे।

संसदमा सुरु भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको सुरुवातमा प्रश्न सोधेकी कांग्रेस नेतृ न्यौपानेले सुरुमा नै सरकारी विद्यालयको गुणस्तरमा देखिएको समस्याका कारण विपन्न वर्गका अविभावकले समेत महंगो नीजि स्कूलहरुमा आफ्ना बालबालिकाहरुलाई भर्ना गर्नु पर्ने बाध्यताको छुटकारा कहिले मिल्छ भनि प्रश्न गरेकी थिइन्।

प्रस्तुत छ, सांसद ईश्वरी न्यौपानेले राखेको प्रश्नप्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफ जस्ताको तस्तैः

सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्नः

सरकारी स्कूलबाट गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिदैन भन्ने विद्यमान परिस्थिति र मानसिकताका कारण दिनभरी काम गरेर हातमुख जोड्न धौ धौ पर्ने अविभावक पनि सकि नसकी आफ्ना बच्चाको भविश्यका लागि प्राइभेट स्कूलमा भर्ना गर्न बाध्य छन् भने, नेपालको डिग्री थन्क्याएर रोजगारीको लागि ५० डिग्रीको गर्मीमा खाडी मुलुकमा जान बाध्य छन् युवाहरु।

सरकारी स्कूल सुधार गर्ने एवं देशमा नै युवालाई रोजगारीको अवसर श्रजन ागर्ने सरकारको के नीति छ?

विदेशमा पढ्न जाँदा एक वर्षमा नेपालको कति रुपैयाँ विदेसिन्छ? एवं बाहिर रोजगारीबाट एकवर्षमा कति रेमिटेन्स भित्रिन्छ?

नम्बर २, कृषिप्रधान देश, सधैँ मलको हाहाकार छ। मल कारखाना खोल्ने सरकारको के नीति छ?
नम्बर ३, सुदूरपश्चिम प्रदेशले राजधानीको आफ्नै प्रशासनिक भवनबाट काम गर्न कहिले पाउँछ? धन्यवाद।

प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफः

सम्माननीय सभामुख महोदय,

म अब प्रश्नको उत्तर दिन तयार भएको छु। तर, उत्तर दिनु अगाडि दुई, तीनवटा वाक्यमात्रै म भन्न चाहन्छु।

यो प्रश्नोत्तर कार्यक्रम यसकिसिमको व्यवस्थ ागर्ने कुरामा नियमावली नियमावली समिति र यो सम्मानीत सदनबाट जो व्यवस्था भएको छ, त्यसका लागि म धन्यवाद भन्न चाहन्छु।

आज बिहान प्रश्नोत्तरका लागि बडो जोसको साथ तयारी गरेर म आउँदै थिएँ तर, दुई घण्टा ढिलो भयो। अलिकति नमिठो त लागेकै छ। र प्रश्नोत्तर कार्यक्रमको सुरुकै दिनमा नियम निलम्बन गर्नु पर्ने जो अवस्था आयो त्यो पनि बडो नमिठो अनुभूति हामी सबैलाई भएकै छ।

तर, फेरि सर्वसम्मत भयौँ हामी। सर्वसम्मत भएकोमा त यो खुशीकै कुरा हो।

अब म माननीय ईश्वरी न्यौपानेको प्रश्नको दिन चाहन्छु।

सरकारी एवं सार्वजनिक शिक्षा सुधारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको छ। सरकारी विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु।

सबै सरकारी विद्यालयमा गणस्तरिय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर श्रजन ागर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ।

साथै विद्यालयहरुको संरचनागत र भौतिक सुधारमा जोड दिइएको छ। शिक्षकको क्षमता विकासका कार्यक्रमहरु संचालनमा रहेका छन्।

स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्याङकन गरिँदैआएको छ र यस्ता कार्यलाई निरन्तरता दिई शिक्षा प्रणाली थप सुदिृढ गरिने व्यहोरा सम्मानीत सदनलाई जानकारी गराउन चाहन्छु।

आर्थिक वर्ष ०७९/८० पहिलो ९ महिनामा रु ९०३ अर्ब ३४ करोड रेमिट्यान्स प्राप्त भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशतले बृद्धि हो। यसै अवधिमा नेपाली विद्यार्थीहरु विदेशमा पढ्न जाँदा रु ६७ अर्ब १९ करोड बाहिरिएको देखिएको छ।

नेपालमा रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त भएका विभिन्न प्रस्तावहरुको सम्भाव्यता अध्ययन कार्य भइरहेको जानकारी गराउन चाहन्छु।

अध्ययनका आधारमा मल कारखाना स्थापना सम्बन्धि कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाइने जानकारी पनि यो सम्मानित सदनलाई दिन चाहन्ुछ।

धन्यवाद।

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update