हिमाल दैनिक
कोशी प्रदेशसभाको बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई दिएर काठमाडौं हिँडिन् उपसभामुख

कोशी प्रदेश सरकारले संविधान बमोेजिम विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक संचालनको जिम्मेवारी बहन नगरी प्रदेश सभा उपसभामुख सिर्जना दनुवार काठमाडौंतिर लागेकी छिन्।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापा नेतृत्वको गठबन्धन सरकारले विश्वासको मत लिने उद्देश्यका साथ सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक बस्नु अघिल्लो दिन आइतबार नै प्रदेश उपसभामुख दनुवारले संविधान र संसदीय नियमावलीले दिएको जिम्मेवारी बहन गर्नुको सट्टा पार्टी रणनीति अनुसार अहिलेसम्म नभएको संसदीय अभ्यासको थालनी गर्दै अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठक संचालनको जिम्मेवारीसहितको पत्र दिएर काठमाडौं लागेकी हुन्।

९३ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनको पक्षमा निवर्तमान सभामुखसहित ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारीमा रहेकै बेला उपसभामुखले सदन संचालनको जिम्मेवारी मन्सुरीलाई दिएर निर्णय प्रक्रियालाई प्रभावित पार्दै संवैधानिक विवाद उत्पन्न गराउने एमालेको रणनीतिमा साथ दिन पुगेकी हुन्।

सोही उद्देश्यले उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेकी छिन्।

Dy-speaker Danuwar1692601516.jpg

कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो। जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी छिन् भने, वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएर उपस्थित नहुने बताइसकेका छन्।

सोही कारण मन्सुरीलाई  बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेकी भएपनि यसको राजनीतिक उद्देश्य गठबन्धनका सदस्यलाई बैठक संचालनको जिम्मा दिएर विश्वासको मत लिने प्रक्रियामा निर्णाक मत दिने सवालमा संवैधानिक तथा व्यवहारिक विवाद खडा गर्नु रहेको छ।

यसैबीच प्रदेशसभाको आजको बैठकमा नेकपा (एमाले)का तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने प्रदेशसभा सचिवालयमा जानकारी दिइसकेका छन्।

यसैगरी आज बिहान साढे आठ बजे बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच दिउँसो १२ः१५ मा बस्ने सहमति भएको छ। आज विहानको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको सहभागिता थियो।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update