हिमाल दैनिक
चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लगानी बोर्डको ५५औँ बैठक शुक्रबा बानेश्वरमा बस्दै । तस्बिरः प्रदीप राज वन्त/रासस

लगानी बोर्डले चार जलविद्युत् परियोजनाका लागि रु ३६ अर्ब ३७ करोड बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो ।

    बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

    दाङको राजपुर गाउँपालिकामा दुई सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय पनि बैठकले गरेको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनी लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।

    बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त, बोर्डको बैठकले रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित कम्पनीसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।

    बैठकमा प्रधानमन्त्री दाहालले आगामी दिनमा जलविद्युत् परियोजनाको लागत निर्धारण गर्दा ‘ब्यांकेबल’ हुने गरी थप अध्ययन/विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियालाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update