हिमाल दैनिक
भैरहवास्थित आईसीपी र सेजको अनुगमन गर्दै मन्त्री रिजालले भने, सेजको जग्गा  लिज मुल्य घटाउनु पर्छ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारी सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

शनिबार भैरहवास्थित एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) को अनुगमन तथा निरीक्षण गर्ने क्रममा मन्त्री रिजालले  कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।

अनुगमन तथा निरीक्षणमा मन्त्री रिजालसगै उद्योग सचिब मुकुन्द निरौलाको पनि उपस्थिति रहेको थियो भने एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)का कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्री रिजाललाई आईसीपीको स्थलगत जानकारी गराएका थिए।

मन्त्री रिजालले आईसीपीको आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिन आग्रह गर्दै नीतिगत समस्या समाधान गर्न केहि समय लाग्ने भए पनि अन्य समस्या भए त्यसको समाधानका लागि तत्काल निर्णय गर्न आफु तयार रहेको जानकारी दिएका थिए।

त्यसैगरी देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न सरकारी कर्मचारीलाई हौसला दिँदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्न समेत आग्रह गरे।

मन्त्री रिजालले शनिबार नै भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)को पनि अनुगमन गरेका थिए।

अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिका भट्टले मन्त्री रिजाललाई सेजको स्थलगत जानकारी गराउँदै सेजको बिस्तृत प्रस्तुति समेत गरेको थिए।

अनुगमका क्रममा मन्त्री रिजालले अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिबद्दता ब्यक्त गरे।

उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजको लागि सरकारले तोकेको ६० रुपैयाँ प्रति स्वाक्यर मिटर जग्गा मुल्यलाई घटाएर प्रति स्वाक्यर मिटर ८ देखि १० रुपैयाँसम्म बनाउन पहल गर्ने आश्वासन मन्त्री रिजालले दिएका थिए।

आईसीपी र सेजको अनुगमन पश्चात मन्त्री रिजालले भैरहवाका उद्योगी व्यवसायीहरुसँग भेटघाट गरेका थिए।

सिद्दार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्य्रक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भए पनि यसमा नेपाल सरकार गम्भीरतापूर्वक लाग्ने बताए।

कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्धितर्फ जान नसक्ने भन्दै यसैकारण सरकारले निजी क्षेत्रको लगानी बृद्धिका लागि गम्भीर भएर काम गरिरहेको बताए।

भैरहवाका उद्योगी व्यवसायीका कुरा सुन्दै मन्त्री रिजालले उच्च मनोबलकासाथ अघि बढ्न आग्रह गर्दै सरकारले केहि गर्दैन भन्ने सोचबाट मुक्त हुँदै आफ्नो मनोबल वृद्धि गर्न समेत आग्रह गरेका थिए।

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update