हिमाल दैनिक
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता
Photo: RSS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच आज ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।

    चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्चाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्टरूपमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    “वार्तामा दुवै नेताबीच क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । दुवै नेताबीच एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने विषयमा छलफल भएको छ”, प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ । नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश राष्ट्रपति सीले दिनुभएको बताइएको छ ।

    प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो । शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा आपसी सम्मान, समर्थन तथा समान अस्तित्वका साथ अघि बढ्ने विषय छलफलमा उठेको जनाइएको छ । चीनका राष्ट्रपति सीले भूगोलका आधारमा ठूलो–सानो देशको कुनै भेदभावबिना समान र सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्नुहुँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने बताउनुभएको थियो ।

      प्रधानमन्त्री दाहालले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्नुहुँदै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको उल्लेख गर्नुहुँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पार्नुभयो ।

    प्रधानमन्त्री दाहालले चीनले अघि सारेको ‘वेल्ट एण्ड रोड’ अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गर्नुभयो । चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्री दाहालले गर्नुभयो ।

    राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँगका यसअघिका भेटको चर्चा गर्नुहुँदै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रूपमा चीनमा स्वागत गरेको स्मरण गर्नुभयो । उहाँले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update