हिमाल दैनिक
प्रधानमन्त्री दाहाल बेइजिङमा
Photo: RSS

बेइजिङ, ७ असोज स् चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो ।
    
    प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुनेछ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् ।

    उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनुहुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

    चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update