हिमाल दैनिक
प्रधानमन्त्री लुम्बिनीमा, महासचिव गुटेरेस पनि जाँदै
file photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उहाँ यहाँ आइपुग्नुभएको हो ।

    अन्नपूर्ण बेसक्याम्पबाट आजै भैरहवा आउनुभएका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री दाहाल यहाँ आइपुग्नुभएको हो । लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारकल लामालगायतले स्वागत गर्नुभयो ।

    सुरक्षा व्यवस्थालाई ध्यान दिँदै आज बिहानबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ । गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्री दाहालको उपस्थितिमा हुने भएकाले यसको महत्व बढ्ने कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे०ले बताउनुभयो ।

    उपाध्यक्ष लामाले लुम्बिनीको विकास र संवद्र्धनमा संयुक्त राष्ट्रसङ्घको भूमिकालाई आगामी दिनमा थप प्रगाढ बनाउनसमेत भ्रमण फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो । गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्ने कार्यसूची छ ।

    उहाँलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम छ । लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौँ फर्कनुहुनेछ । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गरिनेछ । साथै अतिथि पुस्तकमा हस्ताक्षरपछि महासचिव गुटेरेसले सञ्चारमाध्यमसमक्ष आफ्नो धारणा राख्नुहुने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update