हिमाल दैनिक
संघीय संसदको जारी अधिवेशन आजदेखि अन्त्य हुँदै

संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गत वैशाख २४ गतेदेखि सुरु भएको संसदको बजेट अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ।

करिब एक वर्षअघि सम्पन्न संघीय संसद अन्तर्गत प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात गठन भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले जुन आशा र अपेक्षाका साथ संसदलाई क्रियाशील बनाउनु पर्नेथियो त्यो हुन नसकिरहेको आरोपका बिच आजदेखि बजेट अधिवेशन अन्त्य हुँदैछ। विशेषगरी विगत डेढ दशकदेखि बाँकी रहेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कार्यदेखि संक्रमणकालीन न्याय सम्पादन तथा नयाँ संविधानको व्यवस्था बमोजिम सरकारले बनाउनु पर्ने दर्जनौँ कानून समेत संसदमा पेश नहुँदा अथवा त्यसलाई पारित गर्न नसक्दा सरकारप्रति जनविश्वास कम हुँदै गइरहेको छ।

यस्तै सरकारले रिक्त दुई सचिवमा राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई बढुवा गरेको मन्त्री ज्वालाले बताए।

निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि वरिष्ठताका आधारमा अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गरिएको उनको भनाई छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिनुभएको मन्त्री ज्वालाले बताए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update