हिमाल दैनिक
विभिन्न क्षेत्रका १६ उत्कृष्ट करदातालाई सरकारी सम्मान

राष्ट्रिय कर दिवसका अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस, २०८० को अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा अर्थमन्त्री प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।

आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ। निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन्।

यस्तै बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केटलाई सम्मान गरिएको छ।

विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्यअभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालिलाई सरकारले सम्मान गरेको छ।

कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिए।

अर्थतन्त्रमा देखिएका समस्या हट्दै गएका र सकारात्मक दिशातर्फ अर्थतन्त्र अघि बढिरहेको महतको दाबी छ। सरकार अर्थतन्त्रलाई सही मार्गमा ल्याउन क्रियाशील रहेको र सरकार र निजी क्षेत्र एक भएर काम गरेर सुखद नतिजा आउने दावी समेत उनले गरे।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिए।

राष्ट्रिय कर दिवसका सम्मानीत उत्कृष्ट करदातालाइ सरकारले एक वर्षका लागि विशेष प्रकारको परिचय पत्र उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update