हिमाल दैनिक
अर्थतन्त्रमा सुधारका लागि केही नविनतम् घोषणाको तयारीमा छौँः प्रधानमन्त्री दाहाल
चौथो जिम्मेवार व्यवसाय सम्मेलनको कार्यक्रमलाई बिहीबार यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर: प्रदीपराज वन्त/रासस

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सुधार गर्न केही नयाँ घोषण गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिएका छन्।

बिहीबारदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिएका हुन्।

उनले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न लगातार प्रयास गरिरहेको भन्दै सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया समेत गरेको बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले तथ्याङ्कमा हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिएतापनि व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति रहेको बताए।

प्रधानमन्त्री दाहालले मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र नभई सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताउँदै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगका लागि आग्रह समेत गरे।

प्रधानमन्त्री दाहालले दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममार्फत समाज, वातावरण र अर्थतन्त्र जस्ता जल्दो बल्दो विषयमा विश्वमा भइरहेका नवीनतम सुधार र यसका लागि गरिएका प्रयासमा हुने बृहत् छलफल र अन्तरक्रियाबाट मुलुकले अवलम्बन गर्नुपर्ने आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।

उनले सरकार राष्ट्रिय व्यावसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको जानकारी पनि दिए।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update