हिमाल दैनिक
राष्ट्रिय सभा चुनावपूर्व भएको भागबण्डाले सत्तागठबन्धन थप मजबुत भयोः नेता निधि
file photo

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय सभा निर्वाचनका क्रममा भएको भागबण्डाले सत्ता गठबन्धनलाई थप मजबुत बनाएको दाबी गरेका छन्।

नेपाल भारोत्तोलन संघद्धारा भक्तपुरमा आयोजित २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै नेता निधिले राजनीतिक स्थिरताका लागि पनि गठबन्धन बलियो हुनुपर्ने धारणा व्यक्त गरे।

उनले सरकार बदलिइरहे पनि राजनीतिक स्थिरताका लागि पाँच बर्षसम्म संसद चल्न दिनुपर्नेमा जोड दिँदै राजनीतिक बाध्यताको रुपमा रहको गठबन्धन सरकार सबल र सक्षम हुनु पर्ने पनि बताए।

राजनीतिक दल र नेताहरुका कमजोरीका कारण राजनीतिक अस्थिरता भएको भन्दै निधिले ती कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए।

राष्टिय सभा निर्वाचनमा वितरण गरिएको टिकटका बिषयलाई लिएर सार्वजनिक रुपमा टिकाटिप्पणी भएको भन्दै धेरै आकांक्षीकाबीच निश्चित सिटमा टिकट बाँडफाँट गर्दा समस्या आएको भएपनि इमान्दारपूर्वका सत्तागठबन्धनका उम्मेद्वारहरुलाई जिताउनु पर्ने आवश्यकता रहेको उनले बताए।

राजनीतिक दलहरु आफैँले बनाएको नियम स्वयं दलहरुले नै तोडेको भन्दै निधिले खेलाडीबाट नियमको पालना गर्न सिक्नुपर्ने बताए। त्यस अवसरमा नेता निधिले राष्टिय तथा अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए।

कार्यक्रममा संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले खेलकूद क्षेत्रमा लामो समय बिताएका कतिपय व्यक्तिहरु नै खेलकूद क्षेत्रलाई बिगार्न लागि परेको भन्दै तिनका बारेमा भण्डाफोर गर्ने चेतावनी दिए।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update