हिमाल दैनिक
नेपाल–भारत सीमा विवाद समाधानका लागि काम भइरहेको छः मन्त्री साउद
सुदुरपश्चिम भ्रमणका क्रममा डडेल्धुरा आउनुभएका परराष्ट्रमन्त्री नारायण प्रकाश साउद नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः धनबहादुर भण्डारी/रासस

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको जानकारी दिनुभयो ।

“कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारततर्फ र भारततिरको नेपालमा आएको छ”, मन्त्री साउदले भन्नुभयो, “यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ ।”

नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेको मन्त्री साउदले बताउनुभयो । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुङ्ग्याउने प्रयास भइरहेको उहाँको भनाइ थियो । मन्त्री साउदले भारतका विदेशमन्त्री डा एस जयशङ्करले हालै गर्नुभएको नेपाल भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गर्नुभयो ।

“भारतलाई १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने, पञ्चेश्वर जलविद्युत् आयोजना सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई रु १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायत सम्झौता भएका छन्”, उहाँले भन्नुभयो, “दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण सार्थक रह्यो ।”

पञ्चेश्वर परियोजना ‘ब्रेक थ्रु’को विन्दुमा

मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गर्नुभएको छ । उहाँले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन  ९डीपीआर० को काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने बताउनुभयो ।

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिङ्गो नेपालकै लागि फाइदाजनक भएको उहाँको तर्क थियो । पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पु¥याउने मन्त्री साउदले विश्वास व्यक्त गर्नुभयो । उहाँले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजना अगाडि बढाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या घट्ने बताउनुभयो ।

‘विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ’

मन्त्री साउदले इजरायलमा बिद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारको तर्फबाट प्रयास भइरहेको बताउनुभयो । “विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उहाँले दोस्रो युद्धविरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गर्नुभयो ।

“कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ । दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ । विपिन सुरक्षित हुनुहुन्छ । उहाँ चाँडै रिहा हुनुहुनेछ ।”

मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरु नेपाल सरकारको अनुमति लिएर त्यहाँ भर्ती नभएको स्पष्ट पार्नुभयो । उहाँले विद्यार्थी भिसा, भिजिट भिसालगायतमा रुस पुगेका त्यहाँको सेनामा भर्ती भएको बताउनुभयो । रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ शव अहिले त्यहाँको शवगृहमा राखिएको मन्त्री साउदले जानकारी दिनुभयो ।
 
शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल भइरहेको मन्त्री साउदको भनाइ छ । उहाँले भन्नुभयो, “त्यसबाहेक एक सय ३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेको र जोखिममा परेका भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।”

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update