हिमाल दैनिक
जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे
file photo

जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् ।

    पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    यसअघि ६७ हजार लाभग्राही रहेकामा यही माघ ४ गतेसम्म पहिचान भएकाको सङ्ख्या थप भएको प्राधिकरणको निजी आवास तथा पुनःनिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले यसअघि लाभग्राही ८० हजार एक सय ५० पुग्ने अनुमान गरेकामा अहिले सोही हाराहारीमा कायम भएको उहाँले बताउनुभयो ।

    अधिकारीका अनुसार सरकारले लाभग्राहीका लागि अहिलेसम्म रू दुई अर्ब २६ करोड निकासा गरिसकेको छ । उनीहरुको अस्थायी आवासका लागि रू चार अर्ब ७५ लाख चाहिने अनुमान यसअघि नै गरिएको थियो । सो आधारमा अझै रकम आवश्यक देखिएको छ ।

    केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट स्थानीय तहको विपद् व्यवस्थापन समितिमा रू एक अर्ब ९० करोड गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा रू एक अर्ब २६ करोड पुगिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार अहिले १० हजार घर निर्माण जारी रहेको छ ।

    बाँकी परिवारमा अनुदान सम्झौताको चरणमा रहेको छ । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते जनधनको क्षति हुनेगरी भूकम्प गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update