हिमाल दैनिक
रविको रक्षाकबच बन्दै प्रधानमन्त्री दाहालले कांग्रेसलाई भनेः रविको सहकारी प्रकरणलाई राजनीतिकरण नगरौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नहरुको बारेमा जवाफ दिन सदनमा उपस्थित भएका छन्।

सभामुख देवराज घिमिरेले मंगलबारको बैठकमा प्रधानमन्त्री दाहाललाई सदनमा उठेका प्रश्नको जवाफ दिन समय दिएपछि रोष्ट्रममा उपस्थित हुँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुअघि बाग्लुङको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरे।

त्यसपछि कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विषयमा उठाएको प्रश्नको विषयमा जवाफ दिन सुरु गरे।

गतवर्ष पनि मिडिया ट्रायल भएपनि अहिले कांग्रेसले नै गम्भीरतापूर्वक प्रश्न उठाएपछि आफूले यसबारे गहिरोगरी अध्ययन गरेर जवाफ दिन लागेको बताए।

आफ्नो सरकारको मुख्य प्राथमिकता सुशासन प्रत्याभूति भएको भन्दै यसका निम्ति कुनै सम्झौता नहुने बताए।

उनले दोषी जोसुकै भएपनि नछुटोस् र निर्दोष नपरोस् भन्ने कुरामा शंका नगर्न भने।

जहाँसम्म उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको विषयमा उठेको प्रश्नमा उनी कुनै पनि सहकारीको व्यवस्थापन समिति वा अन्य कुनै समितिमा नरहेको र सूर्यदर्शन सहकारीको निवेदनमा पनि कसैको नाम किटानी नभएको बताए।

उनले सूर्यदर्शन सहकारीको निवेदनमा १९ जना विरुद्ध परेको उजुरीमा ४ जना पक्राउ परेको र पछि पूरक उजुरीमा रवि लामिछाने लगायत केहीविरुद्ध उजुरी दिएपनि यसमा उनको संलग्नताबारे कुनै प्रमाण नै नभएको दाबी गरे।

रविको नाममा प्रवाह भएको ऋणको भुक्तानी समेत भएको भन्दै यस प्रकरणमा रवि लामिछाने संलग्न नभएको भनि प्रहरीले उजुरी नलिएको भन्दै सरकारमा सहभागी भएपछि यो विषय उठाउनेहरुले बुझ्न जरुरी भएको बताए।
आफूले कुनै पनि घटनामा कसैलाई छुट नदिने र अनुसन्धानमा दोषी भए कसैले बचाउन नसक्ने बताए।

मुद्दा पर्नासाथ राजीनामा दिने सवालमा यसका लागि सबै दल यसका लागि तयार हो त भन्दै यो विषयलाई राजनीतिकरण नगर्न र अन्य महत्वपूर्ण विषयलाई बहसमा ल्याउन कांग्रेसलाई आग्रह गरे।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update