हिमाल दैनिक
मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउँनु पर्दैन, त्योपनि स्टण्ट बाजहरुलाईः विनोद चौधरी

नेपाली कांग्रेसका नेता एवं प्रतिष्ठित उद्योगपति विनोद चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गाको विषयलाई राज्यले राजनीतिकरण गरेर उद्योग व्यवसायी, लगानी कर्ता र करदातालाई हतोत्साहित गर्न खोजिएको आरोप लगाएका छन्।

करिब चार दशकअघि बाँसबारीको जग्गा गैरकानुनी रुपमा चौधरी ग्रुपले लिएर सरकारी जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले अघि बढाएको छानविनका क्रममा बिहिबार सरकारी वकिलको कार्यालय वयान दिएर बाहिरिने क्रममा प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले यस्तो आरोप लगाएका हुन्।

सरकारी वकिलको कार्यालय परिसरमा उपस्थित पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उद्योगपति चौधरीले भने, ‘यो इस्युमा भने राजनीतिकरण गर्ने, उद्योमलाई राजनीतिकरण गर्ने, एउटा उद्यमीलाई राजनीतिकरण गर्ने, एउटा लगानीकर्ता र एउटा चाहिने ट्याक्सपेयरलाई राजनीतिकरण गर्ने रुप स्पष्टसँग देखियो।’

उनले ४२ वर्ष अगाडि कौडीको भाउमा पनि नबिक्ने अनकण्टार ठाउँको जग्गा जसलाई राज्यले पब्लिक÷प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलका रुपमा अघि बढाएको सोचलाई अहिले आएर राजनीतिकरण गरिनु अत्यन्त दुःखद भएको प्रतिक्रिया दिए।

साथै उनले अहिले मुलुक आर्थिक रुपमा अत्यन्त कठिन परिस्थितिबाट जुज्रिरहेको बताउँदै यो घटनाले देशभित्र र बाहिर रहेका नेपाली युवा, उद्यमी, रोजगारदाता र करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर लगानी गर्लान् भन्ने कुराको हेक्का राज्यले राख्नु पर्ने बताए।

साथै उनले आफ्नाबारेमा अहिले गरिएको गलत प्रचारबाजीप्रति लक्षित गर्दै भने, ‘मैले अब ४५ वर्षको आफ्नो यात्रापछि मेरो आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन। त्यो पनि खासगरीकन स्टण्ट गर्नेहरुलाई।’

प्रस्तुत छ, उद्योगपति एवं सांसद विनोद चौधरीको प्रतिक्रियाको सम्पादित अंशः

मलाई यहाँ आउनका लागि मौखिक रुपमा जानकारी गराइयो। र म उहाँहरुको अनुसन्धानलाई एउटा जिम्मेवार व्यक्ति, एउटा जिम्मेवार राजनीतिकर्मीको हिसाबबाट, उद्यमी र राजनीतिककर्मीको हिसाबबाट म यहाँ सहयोग गर्न उपस्थित भएँ।

४२ वर्ष अगाडि बाँसबारी जस्तो अनकण्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाई एउटा, त्यो बेलामा पब्लिक÷प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको नबिनत्म सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःख लाग्दो छ।

४२ वर्ष अगाडिको १० रोपनी बाँसबारीको जग्गाको मूल्य कति नै पथ्र्यो होला भन्ने कुरा सबैले बुझेका छन्, नेपालभरी। यो देशकै एकमात्र निजी हजारौँ रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपले मुलुक भरी नै विगत १४० वर्षदेखि विभिन्न र अझ व्यवस्थित रुपले ८० वर्षदेखि सम्पूर्ण देशभरी नै विभिन्न परियोजना गर्ने ग्रुपले यो १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज बाहेक केही पनि होइन।

मैले मेरो आफ्नो ४५ वर्षको लामो अभियानमा एउटा उद्यमीको हैसियतले, एउटा उद्योग, बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षको हैसियतले, एउटा विचारकको हैसियतले र एउटा राजनीतिकर्मीको हैसियतले मैले जहिले पनि विकासको राजनीति गरेँ।

मैले कहिल्यै पनि दलगत राजनीतिको पक्षमा अकारण गलत कुरा, प्रवृत्तिलाई प्रश्रय दिइन। कहिल्यै पनि कुनै पनि प्रकारका दलहरुबीचका आपसी मतभेद र जोडघटाउमा सरिक भइन। मैले त्यसअर्थमा आफूलाई एउटा प्रोफेशनलको हैसियतले, विकास प्रेमीको हैसियतले हरेक फोरममा उभ्याएँ।

तर आज यो इस्युमा भने राजनीतिकरण गर्ने, उद्योमलाई राजनीतिकरण गर्ने, एउटा उद्यमीलाई राजनीतिकरण गर्ने, एउटा लगानी कर्ता र एउटा चाहिने ट्याक्सपेयरलाई राजनीतिकरण गर्ने रुप स्पष्टसँग देखियो।

अहिले अत्यन्त कठिन परिस्थितिमा गुज्रीरहेको नेपाल आर्थिक दृष्टिकोणबाट यी कुराहरु रोज आउने गर्दछन्। यो बेलामा म जत्तिको मान्छेले यहाँ उभ्भिएर यो कुरो भनिरहँदाखेरि नेपालभरीका र विश्वभरी रहेका नेपालका युवाहरुले, नेपालका उद्यमीहरुले, रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने कुराको हेक्का राज्यले राख्नु पर्ने हो।

मैले अब ४५ वर्षको आफ्नो यात्रापछि मेरो आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन। त्यो पनि खासगरीकन स्टण्ट गर्नेहरुलाई।

म फेरि पनि यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानीकर्तालाई विशुद्ध राखिनु पर्दछ। राजनीतिको आफ्ना फोरम छन्, त्यसका आफ्ना तरिका छन्। म पनि नवलपरासी पश्चिमबाट यहि विकासको प्लेटफर्ममा प्रत्येक्ष निर्वाचित सांसद हुँ र त्यो भूमिका मैले त्यही नै रुपमा अगाडि बढाएको छु।

यी दुई चिजलाई जोड्ने काम मैले कहिल्यै गरेको छैन र भोलिको दिनमा पनि गर्दिन। म यत्ति नै भन्न चाहन्छु। यहाँहरु सबैलाई धन्यवाद भन्न चाहन्छु,। जय नेपाल।

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update