हिमाल दैनिक
प्रम दाहालकै सामु नेता नेपालले भनेः छिट्छिटो ओल्टेकोल्टे फेरिरहेको गठबन्धन कतिदिन टिक्ने हो पत्तै भएन!

सरकारको कार्यशैली प्रभावकारी बनाउने उद्घोषकासाथ सत्ता गठबन्धन बदलेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनको भविश्यमाथि स्वयं सत्ता गठबन्धनमै सहयात्री दलका शीर्ष नेताले गम्भीर आशंका व्यक्त गरेका छन्।

कम्युनिष्ट नेता नरबहादुर कर्मचार्यको नाममा स्थापित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजित तेस्रो वार्षिक सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री दाहालकै सामु सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको अस्थिर राजनीतिले मुलुक अन्यौलतामा धकिलिँदै गरेको अभिव्यक्ति दिए।

गत फागुन २१ गते एकाएक तत्कालिन गठबन्धन दलका नेताहरुलाई कुनै जानकारी नदिई नेकपा एमालेसँग सत्ता गठबन्धनको सहमति गर्न पुगेका दाहालको कदमबाट रुष्ट बनेका नेता नेपालले आजको कार्यक्रममा गठबन्धनको भविश्यप्रति नै आशंका व्यक्त गरेका हुन्।

विगतका दिनहरुको स्मरण गर्दै उनले मुलुकमा विद्यमान निरंकुश शासनका विरुद्ध र जनताको अधिकारका पक्षमा, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने र देशको मालिक जनता हुन् भन्ने कुरा स्थापित गर्ने कुराको पक्षमा र लोकतन्त्रको आवाज बुलंद गर्ने काम पनि कम्युनिष्ट आन्दोलन नै गरेको दाबी गरे।

उनले कम्युनिष्ट आन्दोलनले साँचो र जनमुखी लोकतन्त्रको मान्यता राखेर अघि बढेको भन्दै त्यो लोकतन्त्र औपचारिक वा बुर्जुवा लोकतन्त्र मात्रै नखोजेको बताए।

प्रधानमन्त्री दाहालले विगत १५ महिनाको अवधिमा तीन पटक गठबन्धन बदलेको प्रति लक्षित गर्दै नेता नेपालले भने, ‘गठबन्धनले अहिले ओल्टकोल्टे ओल्टे पोल्टे गरेको गर्यै छ। कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ। यसको सबै प्रमाण त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू नै दिन दिन सक्नु हुन्छ’ भन्दै प्रधानमन्त्री दाहालतिर हेर्दै थपे, ‘मैले त सक्दिन।। तरपनि अलिअलि भन्न सक्छु र यत्ति भनौँ, परिस्थिति सहज छैन। हामी आफूलाई सहजताको अनुभूत गरिरहेका छैनौँ।’

मुलुकको परिस्थ्तििप्रति गम्भीरताका साथ चित्रण गर्दै नेता नेपालले सबैले जिम्मेवारी बोधका साथ सोच्न आवश्यक रहेको बताए।

विगतमा जस्तै पछिल्लो समय सत्ता गठबन्धनकै सहयात्री दलका नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूप्रति कटाक्ष गर्दै दिएको सार्वजनिक अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, ‘सबैले चेत्नु पर्ने हो भने चेते हुन्छ। हामी कसैका धाक, धम्की, कसैका गाली, गलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ।’ कसैको दास बन्ने हाम्रो नियत पनि होइन भन्दै नेता नेपालले यी सबै कुरा बुझेर राम्रो संस्कारयुक्त राजनीति गर्न सुझाव दिए।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्ने उल्लेख गर्दै बिभिन्न चुनौतीहरु खडा भएपनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।

उनले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने धारणा समेत राखे।

समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्नेमा दाहालको जोड थियो।

प्रधानमन्त्री दाहालले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको धारणा राखे।े कर्मचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए।

दिवंगत कर्माचार्यले विसं २००५ देखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र  मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभएको उनले स्मरण गरे।

त्यस्तै प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताए।

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update