हिमाल दैनिक
राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आब्हान, वैशाख २८ गतेदेखि बजेट अधिवेशन सुरु

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनको अधिवेशन आब्हान गरेका छन्।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी संघीय संसदका दुबै सदनको अधिवेशन आब्हान गर्न राष्ट्रपति कार्यालय समक्ष सिफारिस गरेलगत्तै राष्ट्रपति पौडेलले बिहिबार नै संसदको बजेट अधिवेशन आब्हान गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

‘नेपालको संविधानको धारा ९३ (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गते (आज) को सिफारिसमा वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ”,  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

यसअघि मन्त्रिपरिषदको बैठक लगत्तै सरकारका प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले संसद अधिवेशन आब्हानको निर्णय सरकारले गरिसकेको जानकारी दिएकी थिइन्।

यसअघिका दुबै अधिवेशनहरुमा सरकारले आवश्यक गृहकार्यसहित विधेयक पेश गर्न र पारित गराउन खासै चासो नदेखाएपछि सदनको गतिशीलतामाथि चौचर्फी आलोचना हुँदै आएको छ।

विशेषगरी यसअघिको विधेयक अधिवेशनकै बिचमा सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले एकाएक गठबन्दनमा फेरबदल गर्दै सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री पदमा नियुक्त गर्दै सहकारी ठगी प्रकरणबारे विपक्षी दलको माग बमोजिम संसदीय छानविन समिति गठन गर्न तयार नभएपछि विधेयक अधिवेशनका बैठकमा विपक्षीको विरोध र अवरोध रहेको थियो।

त्यही बिचमा विपक्षी दलको विरोध जारी रहेपछि सरकारले गत वैशाख २ गते एकाएक विधेयक अधिवेशनबाट तीनवटा विधेयक बाहेक अरु कुनै कुरा टुंगो नलगाई अधिवेशन अन्त्य गरेको थियो।

वैशाख २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनको नियमित प्रक्रिया अन्तर्गत सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुका अतिरिक्त जेष्ठ १५ गते सरकारको वार्षिक आय÷व्यय विवरण अर्थात वार्षिक बजेटको अनुमानित विवरण पेश गर्नु पर्नेछ।

तर, सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका गृहमन्त्री लामिछानेको विषयमा सत्ता पक्षले छानविन समिति बनाउन तयार नभएको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनको नियमित कारबाही सहज रुपमा चल्न दिने सम्भावना न्यून हुँदै गएको छ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update