हिमाल दैनिक
राष्ट्रिय सभा अध्यक्षलाई नेता सिटौलाले भनेः कांग्रेसको माग पूरा नभएसम्म सदन चल्दैन
Photo: Dilli Malla

सहकारीको रकम हिनामिना सम्बन्धि विषयमा संसदीय छानविन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो माग सम्बोधन नभएसम्म संघीय संसदका दुबै सदनको नियमित कामकारबाही अवरुद्ध पार्ने भएको छ।

प्रतिनिधि सभामा संसदीय समिति गठनको माग गर्दै सदनको कारबाही अवरुद्ध पार्दै आएको कांग्रेसले उक्त विषयलाई राष्ट्रिय सभामा पनि उठाएर प्रतिनिधि सभामा जस्तै सदनको कारबाही अवरुद्ध पार्ने निर्णयसहितको जानकारी राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई दिएको हो।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध नगर्ने निर्णय कांग्रेसले गरेलगत्तै मंगलबार राष्ट्रिय सभा अध्यक्ष दाहालले सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद भ वन बानेश्वरमा गरेको छलफलका क्रममा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पार्टी निर्णयको जानकारी दिएका थिए।

छलफलमा सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नेबारे छलफल भएको थियो।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने भन्दै राष्ट्रिय सभा आफै निर्णय गर्न सक्छौं भन्ने सन्देश दिन जरूरी रहेको बताएका थिए।
प्रतिनिधि सभाको गतिविधिले राष्ट्रिय सभा पनि प्रभावित हुने सम्भावना देखिएपछि त्यसलाई हटाउन अध्यक्ष दाहालले प्रतिनिधि सभामा हुने सहमति÷असहमति उनीहरुले उतै मिलाउन बताउँदै भने, ‘हामी परिपक्व र विज्ञ सभाका सदस्यहरूले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो। त्यसैले बैठक सुचारू गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूहरूले सहयोग गर्नुहोस्।’

अध्यक्ष दाहालको आग्रह पश्चात जवाफमा नेता सिटौलाले भने, ‘संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा हामी अवरोध गर्दैनौं। धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रिय सभा बैठकमा हाम्रो अवरोध रहन्छ। यो हाम्रो पार्टीको निर्णय हो।’

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update