हिमाल दैनिक
सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाको अनुमति

नागरिकताको विषयमा ६ बुँदे आरोप लगाउँदै धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान जारी राख्न अनुमति दिएको छ।

राज्य प्रशासनले नागरिकताको विषयमा विवादमा परेको सिरोहियालाई मंगलबार जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गर्न अनुमति दिएलगत्तै काठमाडौंस्थित प्रहरी प्रशासनले सिरोहियालाई कान्तिपुर मिडियाको कार्यालय थापाथलीबाट पक्राउ गरी हिँजै राती नै धनुषा पुर्याएको थियो।

बुधबार उनलाई जिल्ला अदालतमा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति मागेकोमा जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले तीन दिन हिरासनमा राखी अनुसन्धान प्रक्रिया जारी राख्न अनुमति दिएको हो।

जनकपुरमा जन्मिएका सिरोहियाले लिएको नागरिकताको विषयमा एकाएक जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि उक्त उजुरीलाई आधार बनाई गृहप्रशासनले पक्राउ गर्न अनुमति दिएको थियो।

संयोगवस, कान्तिपुर मिडियाले सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विभिन्न सहकारीको रकम हिनामिना तथा अपचलनमा संलग्न भएको प्रमाणसहित निरन्तर समाचार प्रकासन गर्न लागिपरेपछि राज्य प्रशासनले उनलाई पक्राउ गरेको आरोप लगाउँदै सरकारको कदमप्रति चौतर्फी आलोचना सुरु भइरहेको छ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update