हिमाल दैनिक
कोइरालाले भनेः कैलाश सिरोहियालाई पक्रने राज्यले दोहोरो नागरिकता र पासपोर्टधारी रविलाई किन छानविन नगर्ने?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुक दिशाविहिन ढंगले अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।

बिहीबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा नेता कोइरालाले मुलुक अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुदै गएकाले पत्रकारहरुले सचेत ढंगले आफ्नो कलम चलाउनु पर्नेमा जोड दिए।

साथै उनले पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि गतिविधि र काम, कारबाही नगर्न सरकारसमक्ष आग्रह पनि गरे।

कोइरालाले सहकारीका बचतकर्ताको बचत ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा पनि राखे।

पछिल्लो समय सहकारी संचालकहरुले बचतकर्ताको रकम हिनामिना गर्दा लाखौँ बचतकर्ताहरु मर्कामा परिरहेको गुनासो गर्दै सडकमा उत्रिरहेका बेला पोखरा, बुटबल, चितवन र काठमाडौंका विभिन्न सहकारीको बचत रकम गैरकानुनी ढंगले गोरखा मिडिया नेटवर्कद्वारा संचालित ग्यालेक्सी टेलिभिजनका नाममा लिएर बचतकर्ताको रकम हिनामिना गरेको आरोप खेप्दै आएका गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै कांग्रेसले सदन र सडकमा विरोध जनाउँदै आएको छ।

सहकारीको रकम हिनामिनाका क्रियाकलापमा गृहमन्त्री लामिछानेसँगै उनका पूर्ववर्ती व्यवसायीक साझेदार जिबी राई पनि संलग्न रहेको प्रमाणसहितका समाचारहरु कान्तिपुर लगायतका मिडियाले दिनहुँ प्रकाशित गर्नथालेपछि त्यसको प्रतिशोधमा लामिछानेले कान्त्रिपुरका संचालकलाई नागरिकताको विवादमा पक्राउ गरेको आरोप लाग्दै आएको छ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका बिषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानविन हुनुपर्ने बताए।

कार्यक्रममा गोविन्दचन्द्र क्षेत्री, गिरिराज आचार्य, हर्षसुब्बा लगायत वरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update