हिमाल दैनिक
गृहमन्त्री लामिछानेले गिरीबन्धुको फाइल खोल्न त के, त्यसबारे बोल्न पनि सक्नु हुन्नः महामन्त्री शर्मा

नेपाली कांग्रेसले गिरीबन्धु टी–स्टेटको फाइल खोल्न सरकारलाई चूनौति दिएको छ।

बिहिबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणका कांग्रेसमाथि बिभिन्न आरोप लगाउने प्रयास भएको भन्दै उक्त प्रकरणको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चूनौति दिएका हुन्।

सर्वोच्च अदालतले केही समयअघि गिरीबन्धुको विषयमा सार्वजनिक फैसला पश्चात पनि आफूहरुले केही नबोलिरहेकै बेला एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा फायर खोल्दै कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिशन खायो भन्ने अभिव्यक्ति दिएकोमा आपत्ति प्रकट गर्दै यसलाई प्रमाणित गर्न र दोषीमाथि कारबाही गर्न चुनौति दिए।

ओलीले लगाएको आरोपप्रति मौनता साँधेर बस्न नसकेपछि आफूहरुले प्रतिवाद गर्दा ओली र उनको दलले कांग्रेसले सार्वजनिक रुपमा माफी माग्नु पर्छ भनेको स्मरण गर्दै उनले भने, ‘झुटा आरोप लगाउन संविधानले मिल्ने तर, साँचो प्रतिवाद गर्न नमिल्ने हुन सक्दैन। किन कि यो नेपाल हो, उत्तर कोरिया होइन।’

गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै महामन्त्री शर्माले प्रश्न गर्दै भने, ‘सत्ताधारी दलमध्ये सबैभन्दा ठूलो दलको नेताले कांग्रेसले गिरीबन्धुको ७० विघा जग्गा बेचेर कमिशन खायो भनि जे आरोप लगाउनु भएको छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ? म जान्दछु, खोल्न होइन, सभामुख महोदय, बोल्न पनि उहाँ सक्नु हुन्न।’

लामिछाने र उनको दलका सदस्यहरुले बोल्न सकेको भए शिक्षा मन्त्री सुमना श्रेष्ठमाथि अध्यक्ष ओलीले व्यक्त गरेको अभिव्यक्ति फिर्ता लिन दमदाबर माग गर्न सक्ने थिए भन्दै शर्माले भने, ‘नम्रतापूर्वक पनि भन्न सक्नु भएन।’

त्यस्तै शर्माले सहकारी प्रकरणमा गठित छानविन समितिको कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख नभएपनि गृहमन्त्री लामिछानेको सिम्बोल नम्बर र ठेगानाको रुपमा गोर्खा मिडियाको अपचलन भन्ने शव्दले गृहमन्त्रीमाथि पनि छानविन हुने जिकिर गरे।

सहकारी ठगी प्रकरणको प्रतिवाद गर्ने क्रममा गृहमन्त्री लामिछाने र उनको दलका सदस्यहरुले ४६ सालपछिका नेताहरुको सम्पत्ति छानविन गर्न उठाएको आवाजको जवाफमा शर्माले आफूहरु यसबारे सत्यतथ्य छानविन गर्न तयार रहेको भन्दै कहिले बन्छ समिति वा आयोग भनि प्रश्न गरे।

यसैगरी जेठ ६ गतेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले संसदभित्र विदेशीलाई सूचना बेच्ने व्यक्तिहरु रहेको भनि दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै शर्माले गृहमन्त्री लामिछानेलाई प्रमाणसहित त्यस्तो व्यक्तिलाई सदनबाट बाहिर पठाउन र कानून बमोजिम देशद्रोहको आरोपमा दण्डित गर्न चुनौति दिए।

जिम्मेवार पदमा बसेका गृहमन्त्रीले दिएको विवादस्पद अभिव्यक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले यदि लामिछानेको भनाईबारे जिम्मेवारी लिन अथवा सत्य नभएको अवस्थामा लामिछानेलाई कारबाही गरी पदबाट हटाउन र सभामुखले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि माग गरे।

कतिपय लोकप्रियतावादी नेताहरुकै शैली र पदचाप पछ्याउन सिपालु महामन्त्री शर्माले सामाजिक संजालमा देखिएको उभारलाई लक्षित गर्दै जबरजस्ती यौन दुव्र्यवहारको आरोपमा उच्च अदालतबाट सफाई पाएर पनि नेपाली राष्ट्रिय क्रिकेट टिमबाट टि–२० विश्वकप खेलमा सहभागी हुन अमेरिका जान खोल्दा अमेरिकी दूतावासले भिसा नदिएको विषयमा सरकारका खेलकूद मन्त्रीदेखि परराष्ट्र मन्त्रीले जवाफ दिनु पर्ने माग गरे।

यसका अतिरिक्त विवादस्पद अभिव्यक्तिसँगै सरकारी निकायसँग द्वन्द्ध चर्किनेगरी गतिविधि गर्दैआइरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडको सडकमा फुटपाथ विस्तार गर्न गरेको कदमलाई सडक विभागले रोक्दा उत्पन्न वादविवादमा जमेर बालेनको पक्षमा आफ्ना अभिव्यक्तिहरु दिए।

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update