हिमाल दैनिक
मधेस प्रदेशका मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको सपथ लिनुका साथै आफ्नो नेतृत्वमा मन्मिमण्डल विस्तार गरेका छन्।

शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई पद तथा गोपनियताको सपथ गराएकी हुन्।

संघीय सरकारमा रहेका दलहरुको हेराफेरिसँगै त्यसको असर कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम हुँदै मधेस प्रदेशमा पनि पुगेको थियो।

विशेषगरी उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालको विभाजनसँगै उनको सत्ताबाट बहिर्गमन पश्चात उनको दलका सांसद सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारले गत बुधबार प्रदेशसभामा विश्वासको मत गुमाएको थियो।

तत्पश्चात प्रदेश प्रमुख भण्डारीले संविधानको व्यवस्था बमोजिम बहुमतसहित मुख्यमन्त्रीको दाबी पेश गर्न शुक्रबार बिहानसम्मको समय दिएकोमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सदस्यहरुको समर्थनमा जनमत पार्टीका सांसद सिंहले मुख्यमन्त्री पदमा नियुक्तिको दावी गर्दै पत्र बुझाएका थिए।

सोही आधारमा मुख्यमन्त्री नियुक्त भएका सिंहले आजै आफ्नो मन्त्रिमण्डलमा रहने सदस्यहरुको नाम प्रदेश प्रमुखलाई दिँदै उनीहरुलाई पनि पद तथा गोपनीयताको सपथ दिलाएका छन्।

यसरी सपथ लिनेहरुमा अर्थमन्त्रीमा भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोज कुमार यादव, भूमि व्यवस्था मन्त्रीमा गोविन्द बहादुर न्यौपाने, शिक्षा मन्त्रीमा राज कुमार लेखी रहेका छन्।

त्यस्तै स्वास्थ्य मन्त्रीमा शत्रुघन प्रसाद सिंह, ऊर्जामन्त्रीमा बेची लुङ्गेली, खेलकुद मन्त्रीमा प्रमोद कुमार जयसवालले सपथ लिनुभएको छ भने गृह, सञ्चार तथा कानून मन्त्रीमा विमला अंसारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरीले सपथ लिएका छन्। वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्रीले नै सम्हालने गरि तोकिएको छ।

जनमत पार्टीका सांसद सिंह संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार नै मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सिंहले जनमतका साथै, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update