हिमाल दैनिक
हल्लाको भरमै कांग्रेसविरुद्ध गम्भीर आरोप लगाएका गृहमन्त्री लामिछाने विस्तारै प्रतिरक्षाको खाेजिमा!

सदनदेखि सचारकर्मीमाझ बोल्न पायो कि विवादस्पद अभिव्यक्ति दिँने स्वभावका कारण निरन्तर विवादमा पर्दै गएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पछिल्लो समय अलि संयमित र रक्षात्मक बन्न थालेका छन्।

विशेषगरी सहकारीको रकम हिनामिनाको विषयमा सदनदेखि सडकसम्म विपक्षी दलको आक्रमणमा परेका रवि पछिल्लो समय कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको हठात धरपकड पश्चात आलोचनाको भुंग्रोमा फँस्दै गएका थिए।

त्यसमाथि गत जेठ ६ गते प्रतिनिधि सभामा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाउँदै गृहमन्त्री लामिछानेको अभिव्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहालले या त जिम्मा लिएर दोषीमाथि कारबाही चलाउन या त उनको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका लागि कारबाही गर्न माग गरेपछि लामिछाने अलि रक्षात्मक बन्न पुगेका हुन्।

सुरक्षा गोष्ठीमा सहभागी हुन आइतबार विराटनगर पुगेका उपप्रधान एवम् गृहमन्त्री लामिछानेले संसदमा आफुले कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको स्पष्टिकरण दिँदै आफ्नो बचाउको प्रयास गरे।

विशेषगरी जेठ ६ गते संसदमा बोल्ने क्रममा कांग्रेस र यसका नेताहरुप्रति आक्रोसित बनेका लामिछानेले सदनमा विदेशीलाई सूचना बेच्ने व्यक्तिदेखि कुटनीतिक राहदानी बेच्ने र घडी चोेर्ने व्यक्तिहरु पनि सांसदको रुपमा रहेको भनाई राखेपछि त्यसबारे पछिल्लो समय कांग्रेसका नेताहरुले सदनमा सरकारका प्रधानमन्त्री दाहालको जवाफसँगै सभामुखसमक्ष लामिछानेको गैरजिम्मेवारपूर्ण र मर्यादाहिन अभिव्यक्ति रेकडबाट हटाउन माग गरिरहेका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले आफुले संसदमा बोलेको कुरालाई नेपाली कांग्रेसले संसदीय मूल्य, मान्यता र मर्यादाहिन भएको आरोप लगाएपछि आफु त्यसबारे जवाफ दिन तयार रहेको समेत बताए।
उनले भने, ‘मैले त्यस्तो त थाहा पाएको छैन। तर, प्रतिपक्षले जवाफ दिनु पर्छ भने भने जवाफ दिनुपर्ने ठाउँमा दिँदै आएको हो र दिनु पर्ने ठाउँमा दिउँला पनि। त्यसमा केही छैन।’

विदेशीलाई सूचना बेच्ने गरेको आरोप कांग्रेस महामन्त्री गगनकुमार थापाप्रति, राहदानी दुरुपयोग गरेको आरोप उपसभापति धनराज गुरुङप्रति र घडी चोरेको आरोप सांसद रामहरि खतिवडाप्रति लक्षित गर्दै बोलेका लामिछानेले आज भने कसैको नाम नलिएको बताए।

‘मैले कसैको नाम लिएर बोलेको जस्तो त लाग्दैन। किन र उहाँहरुलाई त्यस्तो लागेछ? मैले कसैको नाम लिएर भनेको होइन, मैले त जे जे समाचार संचारमाध्यममा आएकै कुराकानी गर्ने हो भने, संचारमाध्यममा यस्ता यस्ता कुरा पनि आउँछन् भनेर संचारमाध्यमकै केही चिजहरु परिपाटी सुनाएको मात्रै हो। मैले त्यस्तो कसैको नाम लिएको जस्तो याद छैन।’

लामिछानेको अभिव्यक्तिप्रति आपत्ति प्रकटगर्दै उपसभापति गुरुङले अदालतको सफाइ पत्रसहित सभामुखलाई निवदेन नै बुझाइसकेका छन् भने महामन्त्री थापाका अतिरिक्त अर्का महामन्त्री विश्वप्रकाश शर्मादेखि अन्य सांसदहरुले गृहमन्त्रीलाई विदेशीलाई सूचना बेच्ने देशद्रोही भए सदनबाट घोक्र्याएर निकाल्दै देशद्रोहको मुद्दा लगाउन र नभए यसको जवाफदेहिता बहन चुनौति दिँदै आएका छन्।

त्यसैगरी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको पक्राउ र त्यसपछि उत्पन्न परिस्थितिबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने भन्दा पत्रकारका पश्नलाई पन्छाउन अग्रसर देखिएका लामिछानेले ‘ज–जसले जे जे भन्छ, त्यसको जवाफ दिँदै हिँड्ने हो भने त, मेरो त अरु कुनै काम नै भएन नि!’ भन्दै उम्किए।

त्यसैगरी अन्य कतिपय विषयमा फाइल खोल्छु भन्दैआएका गृहमन्त्रीलाई पत्रकारले गरेको प्रश्नको जवाफमा अनुसन्धानको विषय बाहिर हल्ला नहुने बताउदै  विभिन्न घोटाला काण्डहरुको छानबिन कार्य भईरहेको र समय आएपछि त्यसबारे जानकारी दिने बताए।

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update