हिमाल दैनिक
भारत भ्रमणको विषयमा सदनलाई जानकारी दिन प्रधानमन्त्रीसँग एमालेको माग

सत्ता साझेदार दल नेकपा एमालेले नै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराउन माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमण र सो क्रममा भएको छलफलका बिषयमा सदनमा जानकारी गराउन माग गरेका हुन्।

पन्तले भारतमा जो सुकै दलको सरकार आएपनि नेपाललाई दमन गर्ने नीति देखिएको भन्दै भारतलाई नेपालले हेर्ने नीति के हो भन्दै सरकारसँग जवाफ माग गरे।

भारतीय लोकसभाको हालै सम्पन्न निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै सत्ता गठबन्धनको पक्षमा आएको स्पष्ट बहुमतको परिणाम लगत्तै निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निर्णयको औपचारिक घोषणा हुँदानहुँदै नेपाल सरकारका प्रधानमन्त्री दाहाल मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन जाने चर्चा सुरु भएको थियो।

भारतीय सत्ता गठबन्धनका नेताहरुले मोदीको नाम नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्दै नियुक्तिको प्रक्रिया सुरुगरेलगत्तै एमालेका नेताहरु सम्मिलित दाहाल नेतृत्वको सरकारले दाहालसहितको प्रतिनिधिमण्डल नवनियुक्त प्रधानमन्त्री मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुने निर्णय मन्त्रिपरिषदबाट भएको थियो।

विगतमा सरकार प्रमुखहरुको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी दिन विपक्षी दलबाट माग हुँदै आएपनि यसपटक भने सत्तारुढ एमालेकै नेता पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको विषयसँगै भारतमा रहँदा त्यहाँ भएका सबैखाले भेटवार्ताको विषयमा सदनलाई जानकारी दिलाउन सभामुखको रुलिङको माग गरे।

उनले भारतले नै सार्कलाई निष्कृय पार्न खोजिरहेको भन्दै सार्कको अध्यक्षको हैसियतले नेपालले यसबारेमा भारतसंग छलफल गर्नुपर्ने धारणा राखे।

अहिले पनि नेपाल भारत सीमाको समस्या, इपिजीको समस्या जस्ताको तस्तै रहेकोले प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीसंग भएका बिषयको जानकारी गराउनका लागि रुलिङ गर्न माग गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भइ प्रधानमन्त्री प्रचण्ड सोमबार राती स्वदेश फर्किएका थिए।
आइतबार ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली पुगेर फकिएका दाहालले स्वदेश फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भारतमा रहँदा आफूले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुका साथै नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेको बताए।

त्यस्तै राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिएका थिए।

 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update