 
                                                                    नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधि सभाको शुन्य समयमा रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कव्जा गरी भोगचलन गरिरहँदा पनि स्थानीय निकायले कुनै कदम नचालेको भन्दै आरोप लगाएपछि कांग्रेसका सांसदहरुले आपत्ति जनाएका हुन्।
उनीहरुले गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएकाले तथ्य पुष्टि गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए।
शुन्य समयमा सांसद श्रेष्ठले काठमाडौं क्षेत्र नंवर ६ मा पर्ने तारकेश्वर वडा नंवर ९ को लोकतान्त्रीक चोकमा रहेको किता नंवर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कव्जा गरेको आरोप लगाएकी थिइन्।
उनले स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आरोप पनि लगाइन्।
सांसद श्रेष्ठको आरोप पछि कांग्रेस सांसदहरुले उठेर आपत्ति जनाएका थिए। उनीहरुले तथ्यहिन आरोप लगाएर कांग्रेस र कांग्रेस नेताहरुमाथि झुट्टा लाञ्छना सदनभित्र लगाउने कार्य भएको भन्दै सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरेका थिए।
सभामुख देवराज घिमिरेले सदनमा कुनै पनि कुरा राख्दा तथ्यका आधारमा प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्न र त्यसको जिम्मेवारी लिने ढंगले राख्नुपर्ने बताए।
त्यसका बाबजूद पनि कांग्रेसका सांसदहरुले उभिएर आपत्ति जनाइरहेपछि सभामुख घिमिरेले यस बिषयमा आएका बिवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेपछि स्थिति सामान्य भएको थियो।
त्यसपछि कांग्रेस सांसदहरुले आसन ग्रहण गरेपछि सभामुखले बैठक अघि बढाउनुभएको थियो।

 
    

 
                                         
                                        