हिमाल दैनिक
केआईआईटी घटनाकाे छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई राष्ट्रिय सभाको आग्रह
file photo

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको सत्यतथ्य छानविन गर्न सरकारको ध्यानाकार्षण गराएका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा आकस्मिक र शून्य समयमा सदस्यहरुले उक्त बिषयमा धारणा राखेपछि अध्यक्ष दाहालले छात्रा प्रिसा साहको छात्राबासको कोठामा झुण्डिएको अवस्थामा मृत्यू भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दुःखद पक्ष भएको भन्दै अध्यक्ष दाहालले नेपाल र भारत दुबै देशले कूटनीतिक माध्यममार्फत् यस्ता घटना दोहोरिरहनु पर्ने कारणको गहिराइमा गएर खोजी गर्नुपर्ने जिकिर गरे।

आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

अध्यक्ष दाहालले उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे।

त्यसअघि बैठकमा राष्ट्रिय सभा सदस्यहरुले केआईआईटीमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने धारणा राखे।

सो कलेजमा पढ्नका चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुने उनीहरुको भनाइ छ। कांग्रेसका सांसद कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने बताए।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका निम्ति एनओसी दिने प्रक्रिया रोक्नुपर्नेमा जोड दिए।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंहले उच्चशिक्षा हासिल गर्न देशबाहिर जाने विद्यार्थीहरुको सुरक्षाप्रति गम्भीरता देखाउनुपर्ने बताए।

त्यस्तै अन्य राष्ट्रिय सभा सदस्यहरुले कुटनीतिक तवरबाट घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए। केहि दिन अघि केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा भेटिएकी थिइन्। यसअघि गत फागुनमा रुपन्देहीकी प्रकृति लम्साल पनि सोही होस्टलमा मृत भेटिएकी थिइन्।

 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update