
मुलुकको प्रमखु प्रशासकीय केन्द्रका रुपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइट डाउन भएको छ।
शुक्रबार बिहानैदेखि सरकारका कतिपय महत्वपूर्ण सूचनाबारे अध्ययन गर्न र जानकारी लिनका लागि मन्त्रिपरिषद कार्यालयको नाममा रहेको ओपिएमसीएम डट जिओभि डट एनपी लगइन गर्दा उक्त साइट खुल्दैन।
यसका अतिरिक्त गृहमन्त्रालयको वेभसाइट समेत डाउन रहेको छ।
सरकारले ठूलो लगानी गर्दै प्रविधिमैत्री सरकारी सेवा र सूचनाको प्रवाह गर्न संचालित वेभसाइट दिनभर जसो डाउन हुँदा पनि सम्बन्धित निकायका अधिकारीलाई कुनै अत्तोपत्तो नै छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता प्रेमप्रसाद अचार्यलाई अपरान्ह ३ः१० बजे फोन सम्पर्क गर्दा उनलाई समेत आफ्नो अड्डाको वेभसाइट नचलेको विषयमा कुनै जानकारी थिएन।
हिमाल दैनिकले सम्पर्क गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँगै गृहमन्त्रालयको वेभसाइट किन नचलेको भनेपछि मात्रै उनले पनि आफ्नो कार्यालयको कम्प्युटरमा साइट लगइन गर्दा नखुलेपछि ‘ए हो रहेछ। के भएको हो यसबारे म प्राविधिकहरुलाई हेर्न लगाउँछु है’ भन्दै फोन राखे।