नेपाली कांग्रेसकी नेतृ एवं सांसद ईश्वरीदेवी न्यौपानले रवि लामिछानेको पार्टी र उनका समर्थकहरुलाई अरुलाई विधिको शासन र लोकतन्त्रको पढाउँदै बाहिर त्यसको ठिक विपरितका गतिविधि चलाइरहेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद न्यौपानले सहकारीको रकम ठगी प्रकरणमा अदालतको आदेश बमोमिज हिरासतमा रहेका लामिछाने र उनको पार्टी नेता, सदस्यहरुले अदालतको अवहेलना हुनेगरी अदालतको आदेशविरुद्ध हस्ताक्षर संकलनसँगै क्युआरमार्फत रकम संकलन गरिरहेको आरोप लगाइन्।
भिजिट भिसामा विदेश गएर त्यतैको नागरिकता लिएर फर्किएपछि नेपालको नागरिकता नै नलिई अनेक गैरकानुनी गतिविधि गरेका लामिछानेले अहिले पनि समाजमा आफ्ना गल्तीहरुको दोष अरुलाई थोपारेर जनतालाई भ्रममा पारिरहेको दाबी गरिन्।
प्रस्तुत छ, कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले मंगलबारको प्रतिनिधि सभा बैठकमा व्यक्त धारणाको सम्पादित अंशः
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम आज अन्तर्राष्ट्रिय युवा दिवस, नारामा मात्रै सिमित नहोस्, सार्थकता पाओस्, यो दिवसको शुभकामना।
सभामुख महोदय,
गत शुक्रबार कैलाली जिल्ला कारागारमा एउटा दुःखद घटना घटेको छ। कैदीबन्दीहरुको आपसी भडपमा एकजनाको मृत्यु भएको छ, ४७ जना घाइते हुनुहुन्छ।
४५ जनाको धनगढीमै उपचार भएको छ, दुई जनालाई काठमाडौंमै ल्याइएको छ। अझ एक जना अझै सिरियस भएको स्थिति छ।
मृत्यु हुनेमा धनगढी नपाको ३६ वर्षिय भरत चौधरी हुनुहुन्छ, उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दछु। घाइतेको स्वास्थ्यलाभको कामना पनि गर्दछु।
कुनै न कुनै गल्ती गरेका मानिसहरु जेलभित्र रहेका हुन्छन् र पनि जेल यातना गृह होइन, सभामुख महोदय, सुधार केन्द्र हो भन्ने कुरा स्थापित गर्नु आजको आवश्यकता पनि हो।
कैदीबन्दीहरुको मानवअधिकार सुरक्षित हुनुपर्छ तर, अराजक बन्ने छुट कसैलाई पनि दिनु हुँदैन।
कैलाली कारागारको घटना जेलभित्रको दंगामात्र होइन। यो हाम्रो जेल प्रणाली, सुरक्षा र सुधारको आवश्यकताको गम्भीर संकेत र ठूलो चेतावनी पनि हो।
क्षमता भन्दा बढी कैदी, उनीहरुलाई निग्रानी गर्ने प्रविधिसँगै क्षमतामा कमी, त्यहाँको फितलो सुरक्षा व्यवस्था प्रारम्भिक रुपमा देखिन आएको छ।
अन्य विस्तृत जानकारी अनुसन्धानपछि मात्रै आउला। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन भएको छ। घटनाको सत्यतथ्य बाहिर आउने अपेक्षा राख्दछु।
दोस्रो कुरा सभामुख महोदय, कारागारकै विषय छ।
रुपन्देही कारागार जहाँ रविजीलाई राखिएको छ, त्यो कोठा, दिइएको सुविधाको विषयमा फरक फरक मिडियाको फरकफरक धारणा आएको छ। मानवअधिकार आयोगको पनि धारणा आएको छ।
अझ एउटै मिडियाको दुइथरी कुरा पनि हामीले सुन्न पायौँ। त्यसपछि त्यही मिडियाले खण्डन गर्यो, यो त एआईले बनाएको हो, अब वास्तविकता त यस्तो हो, फरक छ भनेर।
कसैले एसीसहितको सुविधा छ भन्छन्, कसैले झ्याल नै छैन भन्छन्। एसी भए झ्याल त अवश्य बन्द हुन्छ। वास्तविकता के हो? यो संसदले पनि जानकारी पाउनु पर्ने विषय हो। सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानकर्षण गराउँदछु।
सभामुख महोदय, मलाई एउटा खट्केकोे विषय छः केही नेपाल ऐन संशोधनका लागि सरकारले एकैचोटी धेरै दफाहरुसँग सम्बन्धित कुराहरु समावेश गरेर संसदमा ल्याउने परिपाटीले कहिले काही अर्थको अनर्थ पनि हुने रहेछ। मैले त्यो स्थितिको अनुभव गरेको छु।
कहिलेकाही स्वार्थ समूहरु हावी भएर गलत कानूनहरु पनि बन्दो रहेछ। विगतका एकदुई वटा घटनाहरुले यसको पुष्टि समेत पनि गर्दछ।
कानून बनाउने जस्तो सम्वेदनशील विषयमा व्यापक छलफल गर्नु पर्ने हुन्छ। तर, जसरी विधेयक ल्याइन्छ, संशोधनको समय ७२ घण्टामात्र होइन सभामुख महोदय, १४४ घण्टाको समय दिएर कानूनविदहरुलाई नै त्यो कार्य गर्न दियो भने पनि हम्मेहम्मे पर्दछ।
केही नेपाल ऐन भनेर गोलमटोल गरेर होइन, स्पष्ट दफा किटान गरेर क्रमशः संशोधन गर्ने विषयहरु प्रक्रियामा लग्नु पर्दछ भन्ने अनुभव मैले गरेको छु।
सभामुख महोदय, बहुबिबाह र अपराधिलाई उन्मुक्ति दिने कानून सरकारले बनाउँदैछ भनेर यो विचमा धेरै र व्यापक चर्चा भयो। कुराहरु अझै पनि आइरहेका छन्, मिडियाहरु तातेका तातै छन्।
मन्त्रीजीले त्यस्तो कानून बन्दैन भनेर संसदमा बचन दिनु भएको छ। भनिन्छ नि, अगुल्टादेखि जलेको विजुली चम्किँदा पनि डराउँदछ।
सिंगो समितिको सर्वसम्मत निर्णय स्वार्थ समूहको शब्दजालले उल्ट्याएको तितो अनुभव भर्खरैको छ।
संविधान सभाको सदस्य पनि थिएँ, म सभामुख महोदय, नेतृत्व वर्गले एकथरी निर्णय गरेर एकथरी सहमति गरेर पठाउनु हुन्थ्यो, कम्प्युटरले विगारिदिन्थ्यो। मैले अरुलाई भन्दैन, कम्प्युटरलाई भन्छु, विगारिदिन्थ्यो।
त्यसकारण, यस्तै स्वार्थ समूहरुले घुमाएर हामीलाई अपमानित हुने शब्दहरु, अपमानित गर्नु पर्ने जीवनशैलीहरु त्यस्ता शब्दहरु कानूनमा हाल्न खोजे सिंगो संसद, त्यसमा पनि हामी महिला सांसदहरु त्यसको विरोधमा एकमतले उत्रने जानकारी एवं खबरदारी सरकारलाई गराउँदछु।
सभामुख महोदय, कानून बनाउँदा, या महिलाका विभिन्न विषयमा छलफल गर्नु पर्छ भनेर नियमावलीमा व्यापक छलफल गरेर महिला समितिको प्रावधान राखिएको हो।
तर, संसदको आधा कार्यकाल समाप्त भइसक्यो, सभामुख महोदय, र पनि त्यो समिति किन बन्न सकेन? के महिलाको समिति भएको कारणले मात्रै हो?
अन्य समिति बन्दाखेरि सुविधासहितको समिति बन्छ तर, महिला समिति बन्दाखेरि सुविधा केही पनि नहुने गरी समिति बन्छ तपाईहरु काम गर्नुहोस् भन्दाखेरि हामीलाई सुविधा चाहिएको छैन, हामी काम गर्छौँ। समिति बनाउन पाउने हाम्रो अधिकार हो भन्यौँ। सबैले सर्वसम्मत रुपमा समिति स्वीकार्यौँ।
नियमावलीमा राखेको कुनै कुरा मान्ने, कुनै कुरा नमान्ने छुट हामीलाई छ कि छैन सभामुख महोदय?
नियमावली कार्यान्वयन गराउनका लागि सबैभन्दा बढी जिम्मेवार को हुनु पर्छ? म सादर अनुरोध गर्न चाहन्छु, संसदको नेता हजुर सभामुख नै होइन र? तर, आजसम्म यस्तो गहन विषयमा ध्यान किन गएन?
के महिला भएकै कारणले यहाँ पनि विभेद सहनु परेको हो हामीले? एउटा समितिका लागि यसरी पटक पटक आज मैले बोलेँ। तर म भन्दा धेरै अगाडि पटक पटक माननीयज्यूहरुले यो कुरा उठाइरहनु भएको छ। समिति बनेको छैन। कारण के हो? यसको जवाफ बाहिर सोध्ने कुरा भएन, सभामुख मार्फत नै चाहन्छौँ।
सभामुखजी, यथाशिघ्र समिति गठनका लागि म सादर अनुरोध पनि गर्दछु र सभामुखज्यूसँग जोडदार माग पनि गर्दछु।
सभामुख महोदय, केही साथीहरुले हामीलाई लोकतन्त्र, विधिको शासनको पाठ पढाएर संसद बहिष्कार गरेर बाहिर निस्कनु भयो।
उहाँको सभापतिको विषयमा भर्खरै हिँजो रुपन्देही जिल्ला अदालतले एउटा निर्णय पनि गरेको छ।
उहाँले आफूलाई बैंक (सहकारी) ठगीको रकम उहाँको भागमा जति पर्छ, २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत म त्यो तिर्छु मलाई बाहिरबाट मुद्दा लड्न दिइयोस् भनेर भन्नु भयो। अदालतले त्यो कुरालाई अस्विकार गरिदियो।
रविजीले ठगेको स्वीकार गर्नु भो। भागशान्तिमा तिर्छु पनि भन्नु भो। तर, अदालतले त्यो कुरालाई स्वीकार गरेन, धेरै कुरा थियो होला।
त्यही कुरामा मैले के देँखे भने सम्माननीय सभामुखज्यू, सहकारी पीडितहरुको पैसा यथाशिघ्र फिर्ता गर्नु पर्ने भएको हुनाले म यो काम गर्दैछु भनेको पनि सुनियो। त्यहाँ हेरेँ मैले।
र म प्रश्न गर्न चाहन्छु, सभामुखमार्फत, सम्बन्धित व्यक्ति र त्यो पार्टीलाई, यो बिगो वापतको रकम, मैले बुझ्दैन सभामुख महोदय, म कानूनको ज्ञाता पनि होइन, तर, बिगो वापतको रकम त्यो मुद्दाको छिनोफानो नहुँदै के त्यो सहकारी पीडितले पाउँछ र?
पाउँदैन होला नि त। तर, कसरी जालझेल गरेर कसरी शब्दमा खेलिन्छ भन्ने कुरा हिँजोमात्रै पनि त्यहाँ देखिएको छ।
जसको बारेमा अदालतले धेरै निर्णयहरु गरेको छ। एउटा अदालतले मात्रै होइन, पााच वटा अदालतले निर्णय गरेको छ। अनि उहाँहरु दोष चाँही सरकारलाई लगाइरहनु भएको छ।
भर्खरै भनेर जानु भो, विधिको शासन र लोकतन्त्र हामीलाई पढाएर पनि जानु भएको छ। सरकार कस्तो हुनु पर्छ र विधिको शासन कसरी मन्नु पर्छ भनेर।
तर, म भन्न चाहन्छु सभामुख महोदय, म एउटा नेपाली कांग्रेस पार्टीको कार्यकर्ता हुँ। अहिले सांसद छु, केन्द्रीय सदस्य पनि हुँ। मलाई मेरो पार्टीले भन्दै गर्दाखेरि अदालतमा विचाराधिन विषय बाहिर बोल्नु हुँदैन। किन कि त्यहाँको न्याय प्रभावित पार्छ भनेर मेरो पार्टीले मलाई पढाएको छ।
तर, हामीलाई अहिले भर्खरै शिक्षा दिएर जाने पार्टीका साथीहरुले अदालतमा विचाराधिन विषयमाथि नेपाल भर हस्ताक्षर अभियान, त्यो पनि क्यूआर कोडसहित पैसा पनि दिनु पर्ने, हस्ताक्षर पनि गर्नु पर्ने के विधिको शासन अन्तरगत पर्छ?
उहाँहरुले चलाएको यो अभियानले अदालतको अवहेलना गरेको मानिन्छ कि मानिदैन सभामुख महोदय?
कसको कारणले आएको हो? आज देशभरका जेलमा करिब २८ हजार ७ सय १८ कैदीबन्दी छन्। त्यसमध्येमा एक जना रविजी हुनुहुन्छ।
अझ, रविजी सँगसँगै, रविजी जतिबेला आउनु भो, त्यतिबेला बहिरगमनमा पर्नु भएको छविलाल जोशी पनि हुनुहुन्छ नि। उहाँ पनि त्यही केशमा पर्नु भएको थियो।
माननीयजीहरुले आफ्नो पार्टी सभापति, आज भिजिट भिसाको कुरा गरिराख्न भाको छ, सभामुख महोदय, पार्टी सभापति भिजिट भिसाकै नामबाट बाहिर जानु भएको थियो, जो अहिले जेलमा हुनुहुन्छ।
नेपालको नागरिकता छाड्नु भएको थियो, कार्यबहाक सभापति भिजिट भिसामा पठाउने कम्पनीको मालिक हुनुहुन्छ सभामुख महोदय।
आज त्यो भिजिट भिसाको नाममा बाहिर पनि जाने उहाँहरु, काम पनि गर्ने उहाँहरु अनि दोष अरुलाई दिन मिल्छ सभामुख महोदय?
उहाँहरुको विषयमा धेरै कुराहरु मैले गर्दिन, सभामुख महोदय। कतिपल्ट मैले प्रश्नहरु उठाउने? उहाँहरुको पारिवारीक जीवनमा पनि म जान चाहदिन। म आमा हुँ। दुइटा छोरीको आमाले सामाजिक संजालमा जुन पीडा पोख्नु भएको छ, त्यो बिर्सन पनि सक्दिन सभामुख महोदय।
मर्दै गरेको मान्छेले झुटा बोल्दैन भन्ने कुरा ध्रुबसत्य हो। एउटा पत्रकारले रुँदै आफ्ना कुराहरु राखेर मृत्युवरण गरेको कारण रविजीलाई नै देखाएको छ।
नागरिकता नलिइकनै नेपालमा कारोबार गरेको, नागरिकता नलिएर नै ढाँटेर निर्वाचनमा जानु भएको, नेपाली नागरिकता लिनु पर्दैन भन्ने किसिमले किन गर्नु भएको थियो?
गृहमन्त्री पदबाट राजीनामा दिइसकेपछि मात्रै होइन? आज भर्खरै बलात्कारका कुराहरु उठेको छ। त्यही पार्टीको एउटा नेताले भनेको सुनेँको थिएँ, ‘बलात्कार गर्ने कार्य गरेर उसलाई कुनै चोट पुगेको छैन भने बलात्कार गर्न खोज्नु र हान्नु एउटै हो।’
कुन समाजमा, कस्तो सोसाइटीमा जाँदैछौँ? धेरै कुराहरु उठाइराख्नु भएको छ।
त्यही पार्टीको हुनुहुन्छ, उपसभामुखज्यू। छ जनालाई विदेश जानका लागि आफूसँगै लैजान खोज्नु भएको थियो। ल उहाँले त मैले भाई, बहिनीहरुले भनेको कारणले लग्न खोजेँ भन्नु भएको थियो।
यदि त्यो हो भने, उनीहरुलाई लग्न खोज्दा त खुशी हुनु पर्ने हो नि। किन विवाद आयो? बिचमा पैसाको लेनदेन थिएन भनेदेखि त्यो विवादको कुरा आउँदैनथ्यो, सभामुख महोदय।
यसरी आफैले अनेक गल्तीहरु गर्ने, आफ्नो पार्टीलाई केही पनि नलाग्ने, अनि त्यो दोषहरु सबै अरुलाई दिएर आफू उम्किन मिल्छ? छलफलमा यहाँ बस्नु पर्छ कि पर्दैन?
आज दुई महिनादेखि सदनलाई बन्धक बनाएर राख्नु भएको छ। जानुहुन्छ सडकमा, गर्नु हुन्छ अदालतको अवहेलना, दिनु हुन्छ दोष अन्य अरुलाई। र पढाउनु हुन्छ हामीलाई लोकतन्त्र र विधिको शासन यहाँ।
सभामुख महोदय, धेरै कुराहरु छन् तर म आज धेरै कुराहरु भन्न चाहदिन। त्यो सहकारीबाट रकम ल्याउनु भएको छ, ठग्नु भएको छ, शेयर होल्डर हुनु भएको छ। अझ यहाँ पढेर सुनाउन पाएको भए सहकारी ऐनको दफा १२२ र १२४ हेर्दा हुन्छ सभामुख महोदय। कस्तो कसुरलाई अपराध मानिन्छ र कस्तो कसुरलाई मानिदैन र त्यसका लागि के सजाय हुन्छ भनेर स्पष्ट थाहा हुन्छ।
दश हजारको नोबडी प्रोडक्सनलाई ५ करोड एडभान्स दिनु भएको छ, अनि दोष अरुलाई लगाउनु हुन्छ? पाँच लाख तलब नेपाली नागरिक नभएरै खानु भएको छ, दोष अरुलाई लगाउनु हुन्छ?
त्यसकारण सभामुख महोदय, कस्तो समाज श्रजना गर्दैछौँ? प्रोपोगाण्डा, प्रचारप्रसारबाट पार्टी निर्माण गर्ने हो हामीले? सिद्धान्त बोक्नु पर्दैन? आज दुई चारजना साथीहरुलाई यसैगरी जिताइदिउँला। तर, भोलि हामीले यो समाजलाई कसरी अगाडि बढाउँछौँ? यसमा पनि सम्बेदनशील भएर जानु पर्ने अवस्था छ।
धन्यवाद सभामुख महोदय।