हिमाल दैनिक
भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले जवाफ माग्ने छः प्रम ओली
file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले जवाफ सधैँ माग्ने दाबी गरेका छन्।

आफ्नो पछिल्लो तुर्कमेनिस्तान भ्रमणकाबारेमा प्रतिनिधि सभामार्फत जानकारी दिने क्रममा बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारीको बचत ठगी लगायतका आरोपमा हिरासतमा रहेका यसका सभापति रवि लामिछानेको विषयमा उक्त पार्टीले चलाएको अभियानप्रति लक्षित गर्दै यस्तो दाबी गरेका हुन्। 

पछिल्लो समय सदनदेखि सडक र सामाजिक संजालमार्फत विपक्षमा रहेको रास्वपा र यसका नेता, कार्यकर्ताले चलाएको गतिविधिप्रति कटाक्ष गर्दै उनले भने, ‘देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ।’

प्रधानमन्त्री ओलीले सहकारी प्रकरणमा दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको उल्लेख गर्दै कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको भन्दै एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो भनि प्रश्न उठाए।

प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने जिकिर गरे।

सहकारी ठगीको मुद्दामा थुनामा रहेका लामिछानेविरुद्ध सत्तारुढ दल र सरकारले प्रतिशोध लिँदै थुनामा राखेको भन्दै रास्वपाद्वारा सदनदेखि सडकमा उठाउँदै आएका विरोधका स्वरका अतिरिक्त हस्ताक्षर अभियानप्रति उनले आपत्ति प्रकट गरे।

रास्वपाको हस्ताक्षर अभियानदेखि सरकार, संसद र न्यायालयविरुद्ध व्यक्त अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, ‘संसद, सरकार, न्यायालय लगायत आफ्नो काम गर्नु पने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनु पर्छ। लोकतान्त्रिक शक्तिहरुले यो काम गर्नु पर्छ।’

यसैगरी विगत दुई महिनादेखि भिजि भिसाको मुद्दा उठाउँदै सदनको बैठक निरन्तर बहिष्कार गर्दै आएको रास्वपाका सभापति लामिछानेसँगै सांसद सुमना श्रेष्ठप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले कटाक्ष समेत गरे।

उनले भने, ‘कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको छ।’
यसका पछाडी मुलुक र नागरिकको हित नभई इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको प्रधानमन्त्री ओलीले दाबी गरे।

साथै उनले विपक्षमा रहेका दलहरुले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप समेत लगाए।

प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरुलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाउँदै अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने दाबी पनि गरे।

प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरु मिलेर, अन्य दलहरुको समेत सहयोगमा वर्तमान सरकार गठन भएको बताए।
लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने शक्ति संसदमा रहेको भन्दै उनले वर्तमान प्रणाली ज्यान सरह प्रिय रहेको बताए।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि के ग¥यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको भन्दै सरकारले गरेका काम र उपलब्धिका अतिरिक्त सरकारको भावी लक्ष्य तथा कार्ययोजनाको लामो सूचि सुनाएका थिए।

 

प्रकाशित मिति: बुधबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update