सरकारको कामलाई थप प्रभावकारी, नतिजामुखी बनाउने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्रनै मन्त्रिमण्डलका सदस्यहरुसँग कार्यसम्पादन सम्झौता गराएका छन्।
चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित मन्त्रिमण्डलमा रहेको अन्य मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौता गरेका हुन्।
बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्क्ष पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको थियो।
गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने गत बर्षका आधारमा यस वर्ष झण्डै एक महिना अगाडि नै सम्झौता गरी वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले पनि सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ।