
करिब १३ महिनाअघि देशको प्रधानमन्त्री बनेदेखि निरन्तर औपचारिक निमन्त्रणाको पर्खाइमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४ महिनापछि बल्ल मित्रराष्ट्र भारतको भ्रमणको साइत जुरेको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचाकिर भ्रमणमा आइतबार बिहान काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा भारत भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेसँगै ओलीको प्रतिक्षाको घडी सकिएको छ।
आइतबार बिहान काठमाडौं आइपुगलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको तर्फबाट ल्याएको भारत भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरे।
दुई देशका विदेश मन्त्रालयका अधिकारीहरुबिचको गृहकार्यका आधारमा तय गरिएको प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति भदौको ३१ गतेदेखि असोज २ गतेसम्मका लागि तय भएको छ।
उक्त भ्रमणका अवसरमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भारतको बोधगयामा औपचारिक भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्।
गत वर्षको असारमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धन भत्काएर नेपाली कांग्रेससँग नयाँ गठबन्धन गर्दै मुलुकको प्रधानमन्त्री बनेका ओलीले त्यसलगत्तै भारत भ्रमणको चाहना गरेपनि भारतीय पक्षबाट खासै महत्व नदिँदा भ्रमणको साइत जुर्न सकेको थिएन।
त्यसबिचमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले पनि पटक पटक औपचारिकसँगै अनौपचारिक भारत भ्रमण गर्दै प्रधानमन्त्री ओलीको भ्रमणको मिति जुराउन कोशिश गरेपनि भारतीय पक्षले खासै चासो नदेखाउँदा त्यो साइत टर्दैगएको थियो।
तर, १४ महिनापछि भ्रमणको साइत जुराउँदै भारतीय विदेश सचिव मिस्री नेपाल आएपछि ओलीको इच्छा पनि पूरा हुने भएको छ।
परराष्ट्र सचिव राईको निमन्त्रणामा नेपाल आइपुगेका भारतीय विदेश सचिव मिस्री नेतृत्वको सरकारी टोलीसँग नेपाली पक्षले दुई देशबिचको आपसी सम्बन्ध मजबुद पार्दै कनेक्टिभिटी, विकास सहयोग र आपसी हित लगायतका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
विदेशसचिव मिस्रीले भ्रमणका दौरान नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी भ्रमण सम्पन्न गरी भदौ २ गते काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।