सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन्।
सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्तागठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछिमात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन्।
बैठकपछि नेताहरुले उपसभामुख राना देश बाहिर रहेकाले स्वदेश फर्किपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए।
यसअघि मंगलबार बिहान एकाएक सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले शीर्ष नेताहरुबिच भएको छलफल र निश्कर्षका आधारमा पदीय आचरण अनुकूलको व्यवहार नगरेको आरोपमा उपसभामुख रानाविरुद्ध संसदमा प्रस्ताव दर्ता गर्ने प्रयोजन नखुलाई आफ्ना सांसदहरुको हस्ताक्षर संकलनको कार्य सुरु गरिएको थियो।
जसलाई लिएर सत्तारुढ दलकै नेतादेखि आमसंचार माध्यमले यो हस्ताक्षर उपसभामुख रानालाई हटाउनका लागि गरिएको र सम्भवत आजै दर्ता गरिने दाबी गरिएका प्रचार बाहिर आएपनि यो प्रक्रिया हाललाई स्थगनकै अवस्थामा राखिएको छ।
हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख राना भाद्र १३ गतेपछि मात्रै स्वदेश फर्कने कार्यक्रम रहेको बुझिएको छ।
बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख रानाबिरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने बिषयमा छलफल नै नभएको दाबी गरे।
सत्तारुढ दलका नेताहरुबीच संसदीय मामिलालाई प्रभावकारी बनाउने, महत्वपूर्ण विधेयकलाई अघि बढाउने र संसदमा देखिएको गतिरोधका बिषयमा साझा धारणा बनाउने प्रयास गरिएको उनले बताए।
त्यस्तै उनले संसदमा विचाराधिन अवस्थामा रहेको बहुचर्चित र विवादस्पद भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलबीच समान धारणा बनाएर सदनबाट पारित गर्न छलफल भएको जिकिर गरे।
बर्तौलाले उपसभामुखका बिषयमा उठेका प्रश्नहरुलाई निष्कर्षका पुराउनका लागि खुला ढंगले छलफल गर्ने पनि बताए।
उपयुक्त समयमा यसका बिषयमा आवश्यक निर्णय लिने भन्दै उनले उपसभामुख देशबाहिर रहेका बेला उहाकाबिरुद्ध टिप्पणी गर्नु उचित नहुने धारणा राखे।
यस्तै जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने जानकारी दिए।
सत्तागठबन्धको बैठकमा समयमा नै विधेयक पारित गर्न संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगाएतका बिषयमा छलफल भएको उनले बताए।
बैठकमा कांग्रेस एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगाएत दलका नेताहरु सहभागी भएका थिए।