हिमाल दैनिक
प्रदर्शनकारी युवा संसद भवन परिसरमा प्रवेश, प्रदर्शन अनियन्त्रित बनेपछि काठमाडौंका विभिन्न स्थानमा कर्फ्यू लाग्यो

सामाजिक सञ्जालमाथिको प्रतिबन्धका कारण आक्रोसित बन्दै सडक प्रदर्शनमा उत्रिएको नयाँ पुस्ताका युवाहरुको आन्दोलन अनियन्त्रित बनेपछि काठमाडौं जिल्ला प्रशासनले काठमाडौंका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ। 

सरकारले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्म सूचिकरणको उर्दी जारी गर्दै सरकारको आदेश पालना नगरेका सामाजिक सञ्जाल निष्कृय बनाएपछि आक्रोसित बनेको नयाँ पुस्ता जेनेरेशन जेडको नाममा सोमबार बिहान ११ नबज्दैदेखि माइतीघरमा जम्मा भएको थियो।

माइतीघरबाट सुरु भएको उक्त भिड सरकार विरोधी नारा र प्लेकार्ड लिएर नयाँ वानेश्वरस्थित संसद भवन अगाडिको निषेधित क्षेत्रमा प्रवेश गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो।

सुरक्षा निकायले उनीहरुलाई रोक्न नसकेपछि उक्त भिडले संसद भवनको दुई नम्बर गेट तोडफोड गर्दै भित्र छिरेपछि प्रहरीले केही राउण्ड अश्रुग्याँसका सेल, पानीको फोहोरा र रवरका गोली चलाएपनि उक्त भिड संसद भवन परिसरभित्रै प्रवेश गर्दै सुरक्षाकर्मीमाथि जाइलागेको थियो।

स्थिति नियन्त्रण बाहिर गएपछि काठमाडौं जिल्ला प्रशासनले नयावानेश्वर संसद भवन वरपरका लागि निषेधाज्ञा जारी गरेको थियो।

कर्फ्यू_आदेश1757318943.JPG

त्यसको केही क्षणपश्चात जिल्ला प्रशासनले सिंहदरबार वरपरदेखि राष्ट्रपति र उपराष्ट्रपतिको निवास आसपासमा पनि निषेधाज्ञा जारी गरेको छ। 

प्रशासनले कफ्र्यू आदेश जारी गरेलगत्तै अहिले वानेश्वरमा नेपाली सेना परिचालन गरिसकिएको छ।

सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्। 

49331(1)1757319001.jpg

प्रदर्शनमा सहभागी युवाहरुले सरकार बोल्न दे, देश लुट्न पाइदैन, भ्रष्टाचार अन्त्य लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका छन् । त्यस्तै युवाहरुले देशका वीरगंज, पोखरा, झापा, भैरहवा लगाएत अन्य शहरहरुमा पनि प्रदर्शन गरेका छन्।

सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका युवाहरूले आफूलाई जेन जेडको पुस्ताका रुपमा चिनाउने गरेका छन्। 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update