हिमाल दैनिक
संसद भवन परिसरमा आगजनी र तोडफोड, गोली चल्दा एक प्रदर्शनकारीको मृत्यु, दर्जनौँ घाइने

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध प्रदर्शनमा उत्रिएका नयाँ पुस्ताका युवा (जेनजी) र प्रहरीबीच झडप हुँदा एक जना प्रदर्शनकारीको मृत्यु तथा थुप्रै व्यक्तिहरु घाइते भएका छन्।

काठमाडौँको माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरु बबरमहल हुँदै निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाहिर प्रदर्शन गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।

त्यस्तै केहि प्रदर्शनकारीले संघीय संसद परिसर बाहिरको कम्पाउण्ड भत्काएर भित्र प्रवेश गर्दै आगजनी र तोडफोडमा उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहराका साथै रबरको गोली चलाएको थियो।

सो क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने प्रहरीसहित धेरै प्रदर्शनकारी घाइते भएको बताइएको छ। 

घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै केहि सञ्चारकर्मीसमेत आन्दोलनकारी र सुरक्षाकर्मीको बिचमा पर्दा घाइते भएका छन्।

प्रर्दशन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले काठमाडौँका विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ। अपराह्न १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कफ्र्यु आदेश दिइएको हो। 

नयाँ बानेश्वर आसपासका क्षेत्र, शीतल निवास (राष्ट्रपति कार्यालय) वरपरको क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) वरपरको क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र , केशर महल चोकदेखि जयनेपालमोड र महेन्द्र सालिक सम्म, सिंहदरबार क्षेत्र वरिपरि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। 

सरकारले संसदमा विचाराधिन सामाजिक सञ्जाल विधेयक व्यापक छलफल र समयसान्दर्भिक परिमार्जन गर्न छाडेर एकाएक निर्देशिकाको भरमा सामाजिक सञ्जाललाई उसको उर्दी र चाहना बमोजिम सूचिकरण हुन वा नभए संचालनमा रोक लगाउने कदम चालेपछि त्यसबाट प्रभावित बनेका जनतामध्ये युवा जमात आक्रोसित हुँदै सडक प्रदर्शनमा उत्रिएको थियो।

उक्त प्रदर्शनलाई नेकपा माओवादी केन्द्रदेखि पूर्व राजावादी, रवि लामिछानेको पार्टीका अतिरिक्त काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको समेत समर्थन रहेको थियो।

 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update