हिमाल दैनिक
अन्तरिम सरकारका तीन मन्त्री खनाल, घिसिङ र अर्यालले लिए पद तथा गोपनीयताको सपथ

पछिल्लो समय एकाएक बदलीएको राजनीतिक तथा सामाजिक परिदृश्यमा गठित अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासको भगनावशेष बन्न बाँकी भवनअगाडि त्रिपाल टाँगेर बनाइएको मञ्चमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएका हुन्।

गत शुक्रबार मात्रै संविधान र कानूनी प्रावधानसँगै आफैँले गरेको न्यायिक फैसलाको विपरित हुँदाहुँदै आन्दोलनको उभारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति लिँदै पद तथा गोपनीयताको सपथ लिएकी थिइन्।

नियुक्ति पूर्व नै आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने दायित्वसहितको अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले ततपश्चात राष्ट्रपतिसमक्ष प्रतिनिधि सभाको विघटन र निर्वाचनको मिति तयसहितको सिफारिस गरेपछि राष्ट्रपतिले आगामी फागुन २१ गते निर्वांचनको मिति तय भएको औपचारिकता दिएका थिए।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति लिएको दोस्रो दिन शनिबार परेपछि आइतबारमात्रै पदभार सम्हालेकी प्रधानमन्त्री कार्कीले आइतबार साँझ आफ्नो मन्त्रिमण्डलका तीन सदस्यको नाम सिफारिस गरेकी थिइन्।
यसरी सिफारिसमा परेका तीन मन्त्रीहरु खनाल, घिसिङ र अर्याललाई सोमबार बिहान पद तथा गोपनीयताको सपथ दिलाइएको हो।

नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ। 

बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने बताइएको छ। 

पूर्वअर्थ सचिव खनाल तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग कुरा नमिल्दा सचिवबाट राजीनाामा दिएको केही समयपछि नेपाली कांग्रेसमा आबद्ध भएका थिए। पाल्पाबाट टिकटको अपेक्षा राखेका खनाललाई कांग्रेसले टिकट नदिएपछि त्यसको केही समयपछि नेकपा माओवादी पार्टी परित्याग गरी अलग्गै पार्टी बनाएका बाबुराम भट्टराईको पार्टीमा नजिकिएका थिए।

तर, पछिल्लो समय सामाजिक सञ्जालमाथि अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्धको विरुद्धमा सडकमा उत्रिएका २८ वर्ष मुनीका युवाहरुको आब्हानमा भदौ २३ गते आयोजित सडक प्रदर्शनको परिणाम स्वरुप बन्न पुगेको नयाँ अन्तरिम सरकारको अर्थमन्त्रीमा नियुक्त भएका हुन्।

यसैगरी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा काम गर्दा समाजमा राम्रो छाप बनाउन सफल घिसिङलाई यसअघिको सरकारले हटाएपछि युवाहरुको आन्दोलनलाई प्रत्यक्ष÷परोक्ष सहयोग गरेका थिए। त्यसैवापत उनी सरकारको उर्जा मन्त्रीमा नियुक्त हुन सफल भएका छन् भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानूनी सल्लाहकार अर्यालले आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै अन्तरिम सरकारको गृहमन्त्रालय लगायतका मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगाएतको उपस्थिति थियो भने सभामुख देवराज घिमिरे अनुपस्थित नै रहे।

जेनजी आन्दोलन र उत्पन्न परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

नवनियुक्त मन्त्रीहरुले भदौ २४ गतेको विध्वंसबाट खण्डहर बनेका र बन्नबाट जोगिएका भवनहरुमा आजै पदभार ग्रहण गरिसकेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update