नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन्।
सोमबार शीतल निवासमा सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर मन्त्री अर्यालले पदभार ग्रहण गरे।
पदभार ग्रहण गर्दै मन्त्री अर्यालले भदौ २३ गते २८ वर्ष मुनीका उमेरसमूहलाई चिनाउने जेनजीको आब्हानमा भएको आन्दोलनका क्रममा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णयमा हस्ताक्षर गरे।
साथै शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ भने आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चबापत प्रति परिवार रु एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पु¥याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।
शोक दिवसको तिथि र मितिका सन्दर्भमा भने नवगठित मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि जानकारी आउने बताइएको छ।
उनले सरकारको ध्यान निर्वाचनमा केन्द्रीत हुने भन्दै दलहरुलाई प्रतिवन्ध गराउने कुनै योजना नरहेको जिकिर गरे।
मन्त्री अर्यालले निर्वाचनबाट आउने परिणामलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिँदै युवाहरुले पनि अव आफ्नो आन्दोलनको पुष्टि लोकतान्त्रीक प्रक्रियाबाट गर्नुपर्ने बताए।
मन्त्री अर्यालले आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कनका साथै छानविन हुने स्पष्ट पारे।
त्यसअघि मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए। गृहमन्त्री अर्याललाई कानून मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।