हिमाल दैनिक
आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्झनामा आज राष्ट्रिय शोक दिवस

सरकारले यही भदौ २३ र २४ गते नवयुवा (जेनजी) युवाहरुको गरेको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउँन सार्वजनिक बिदा दिएको छ। 

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउदै बुधबार सार्वजनिक बिदा दिएको हो। 

त्यस्तै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरेको थियो । 

तत्कालीन सरकारले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्म कानून र अदालतको आदेश बाहिरबाट निर्देशिकाको भरमा प्रतिबन्ध लगाएपछि देशभरीका नवयुवाहरुले भदौ २३ गते सडक प्रदर्शन गरेका थिए।

उक्त प्रदर्शनमा नयाँवानेश्वरस्थित संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीको सुरक्षा कारबाहीबाट १७ जनाको ज्यान जानुका साथै अन्य कैयन प्रदर्शनकारी तथा प्रहरी घाइते भएका थिए।

उपत्यका बाहिर २ र उपत्यकामा १७ जनागरी १९ जना युवा प्रदर्शनकारीको सुरक्षा कारबाहीमा भएको हत्याको विरोधमा भदौ २४ गते बिहानैदेखि देशभरी नै सडकमा विरोध प्रदर्शन मात्रै भएन, राजधानीका अधिकांश प्रहरी पोष्टमा आक्रमण गर्दै आक्रोसित भिडले आगो लगाउँदै कुटपिट समेत गरेको थियो।

यसका अतिरिक्त प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि चर्चामा रहेका नेता, मन्त्री, प्रधानमन्त्रीको घरमा आगो लगाएर खरानी बनाएको उक्त भिडले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, संसद भवनदेखि राष्ट्रपति भवन जलाउँदै सबैलाई सेनाको नियन्त्रण र सुरक्षा घेरामा बस्न बाध्य मात्रै बनाएन देशको शासन सत्ता पल्टाउँदै संविधान र व्यवस्था नै धरापमा पारिदिएको थियो।

जेनतेन राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको प्रस्ताव बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गतेका लागि तय गरेका थिए।

उक्त आन्दोलनका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीदेखि देशका कतिपय कारागारमा भएको सुरक्षाकारबाहीमा गरी ७२ जनाको जीवन गएको थियो भने अझै पनि कैयनको संख्यामा घाइतेहरुले अस्पतालमा उपचार गराइरहेका छन्।

 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update