हिमाल दैनिक
प्रधानमन्त्री कार्की र मोदीबिच टेलिफोन वार्ता, संविधान दिवसको सट्टा राष्ट्रिय दिवसको शुभकामना!

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन सम्वाद भएको छ। 

बिहिबार अपरान्ह भएको टेलिफोन सम्वादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो घटनाक्रम पश्चात मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकोमा पूर्वप्रधानन्यायाधीश एवं प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै दुई देशबिचको आपसी सम्बन्ध विस्तारबारे कुराकानी गरेका थिए।

प्रधानमन्त्री कार्कीसँगको सम्वाद लगत्तै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत आफूले पछिल्लो आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको शान्ति र समृद्धीका लागि आफ्नो तर्फबाट गर्नसक्ने सबै सहयोग र समर्थनका लागि सदा तत्पर रहेको पनि बताएका छन्।

सम्वादका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीको ७५औं जन्मदिनको शुभकामना पनि दिएकी थिइन्।

यसका अतिरिक्त भारतीय प्रधानमन्त्री मोदीले कार्कीलाई भोलि असोज ३ गतेको संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिने क्रममा संविधान दिवसको सट्टा राष्ट्रिय दिवस भनि उल्लेख गरेका छन्।

तत्कालीन संविधान सभाले ०७२ सालमा जारी भएको नेपालको संविधान र संविधान दिवसको उपलक्ष्यमा भारतले अहिलेसम्म पनि औपचारिक बधाई तथा शुभकामना दिएको छैन। 

Modi said1758189631.JPG

संविधान सभाले तयार पारेको नयाँ संविधान जारी गर्ने तयारीका क्रममा रहेकै बेला भारतीय सरकारले आफ्ना विदेश सचिवलाई नेपाल पठाएर संविधान जारी गर्न हतारो नगर्न दबाब दिएको थियो।

त्यसका बाबजूद संविधान सभाबाट नेपालको संविधान जारी भएपश्चात भारतले नेपालमा संविधान जारी भएको जानकारी भएको भन्दै त्यसको लगत्तै नियोजित रुपमा तराई मधेसमा आन्दोलन चर्काउँदै लामो समयसम्म अघोषित नाकाबन्दी लगाएको थियो। 

त्यसपछिका दिनमा पछिल्लो पटकको राजनीतिक परिवर्तन लगत्तै कार्कीलाई बधाई तथा शुभकामना दिएका भारतीय प्रधानमन्त्री मोदीले आज टेलिफोन वार्ता गर्दै संविधान दिवसलाई औपचारिक शुभकामना दिने भन्दा पनि राष्ट्रिय दिवसको नाम दिँदै शुभकामना दिएका हुन्।

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update