हिमाल दैनिक
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको प्रतिबद्धताः ६ महिनाभित्र निर्वाचनमार्फत सत्ता हस्तान्तरण हुन्छ

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन्।

संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै बिभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी हुन्।

उनले सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा भएको उल्लेख गर्दै यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले आफु पदको लोभ लिएर प्रधानमन्त्री भएको नभइ देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न आफुले नेतृत्व लिएको दावी गरिन्।

नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने बाचा उनले गरिन्।

कार्कीले कानूनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणामका कारण वर्तमान अवस्था आएको पनि बताइन्।

उनले नवयुवाहरु (जेनजी) आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माणका साथै व्यवसायीक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चूनौति रहेको उल्लेख गर्दै यस काममा सहयोग गर्न आग्रह गरिन्।

सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्म बन्द गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध नवयुवाहरुले भदौ २३ गते गरेको सडक प्रदर्शनमा हिंसा भड्किएपछि २४ गतेको हिंसात्मक ध्वंसलाई थेग्न नसकी ततकालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छाडेपछि आन्दोलनको आडमा कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदै संसदको विघटनसँगै ६ महिनाभित्र निर्वाचनको कार्यभार लिएर भदौ २७ गते सत्तामा पुगेकी थिइन्। 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update