हिमाल दैनिक
मधेस प्रदेश प्रमुखको गैरसंवैधानिक कदमले निम्त्यायो अर्को द्वन्द्ध

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभाको विश्वास गुमाएपछि उत्पन्न नयाँ परिस्थितिबिच प्रदेश प्रमुखले संविधान र कानूनी प्रक्रिया बाहिर गएर आफ्नो दलीय पक्षधरता लिँदा उक्त प्रदेशमा नयाँ विवाद उत्पन्न भएको छ। 

प्रदेश सरकारको नेतृत्व लिएको चार हप्ताभित्रै सदनबाट विश्वासको मत लिने क्रममा सरकार पक्षकै दुई सांसदले धोका दिएपछि विश्वासको मत प्राप्त गर्न विफल बनेका सोनललाई प्रतिस्थापन गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान बमोजिम प्रक्रिया सुरु नगरीकनै हठात प्रदेश प्रमुखको कार्यालयबाहिर बर्दिबासको एक होटलमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई आज बिहानै झिसमिसेमै मुख्यमन्त्री पदमा नियुक्ति गर्दै पद तथा गोपनीयताको सपथ दिलाएपछि मधेस प्रदेशमा रडाको मच्चिएको छ। 

संविधान, कानून र स्थापित अभ्यासविपरित प्रदेश प्रमुख भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्ति दिएपछि विपक्षमा रहेका नपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतका सात दलका ७४ जना सांसद सदस्यहरु प्रदेश प्रमुखको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन्।

निवर्तमान मुख्यमन्त्री सोनलको कार्यकक्षमा भएको सात दलीय नेता तथा सदस्यहरुको बैठक पश्चात कांग्रेस संसदीय दलका नेता श्रीकृष्ण यादवले आफूहरुले यसअघिका मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेको अवस्थामा ७४ सांसदको हस्ताक्षरसहित संविधानको धारा १८६ को उपधारा २ बमोजिम सरकार गठनको बाटो छाडेर होटलमा प्रदेश प्रमुखले एमाले नेतालाई गैरसंवैधानिक र गैरकानूनी ढंगले मुख्यमन्त्री नियुक्त गरेकोले आफूहरु सर्वोच्च अदालतमा रिट दायर गर्न आजै जान लागेको जानकारी दिए।

यसैबिच प्रदेश प्रमुख भण्डारीको कदमको विरोधमा सात दलका सांसद तथा समर्थकहरुले प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गर्दै बाहिर सडकमा नारावाजी र विरोध गरिरहेका छन्। 

Madhesh Pradesh Pramuk1762761438.JPG

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update