आजभन्दा ठिक तीन महिनाअघि ६ महिनाभित्र प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्यादेशसहित चुनावी सरकारको नेतृत्व गर्न पुगेको पूर्वप्रधानन्यायाधीश एवं प्रधानमन्त्री सुशीला कार्कीले किस्ताबन्दीमा मन्त्रिपरिषद विस्तार गरेकी छन्।
पटक पटक कहिले तीन जना, कहिले चार त कहिले एक गर्दै पछिल्लो पटक शुक्रबार प्रधानमन्त्री कार्कीले थप चार जनालाई नयाँ मन्त्रीका रुपमा नियुक्त गर्दै पद तथा गोपनीयताको सपथ पनि दिलाउन सफल भएकी छन्।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने मुख्य दायित्व पाएकी प्रधानमन्त्री कार्कीले शुक्रबार कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्तिसँगै राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ दिलाइन्।
सपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगाएतको उपस्थीति रहेको थियो।
प्रधानमन्त्री कार्कीले कुमार इङ्नामलाई भूमि व्यवस्था मन्त्रालय, नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय तथा श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएकी छन्।
सुशासन र पारदर्शीतासँगै सामाजिक सञ्जालमाथिको नियन्त्रण फुकुवाको नारा लिएर भएको भदौ २३ गतेको नवयुवाहरुको प्रदर्शन र त्यसमा भएको सुरक्षा कारबाही लगत्तै भड्कीएको नेपाली समाजलाई राजनीतिक तथा संवैधानिक स्थीरताको बाटो समाउन राष्ट्रपतिले नवयुवाहरुकै समर्थन प्राप्त कार्कीलाई प्रधानमन्त्री बनाउँदै ६ महिनाभित्र चुनाव गराउन कार्यादेश दिएका थिए।
चुनावको मिति आउन तीन महिना पनि बाँकी नरहेको अवस्थामा कार्कीले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्दै र नवयुवाहरुसँग संविधान र कानून विपरितका कतिपय सहमति र सम्झौता गर्दै आएपछि सरकारको निर्वाचनप्रतिको प्रतिबद्धता र इमान्दारितामाथि आशंका पैदा भएको छ।



