हिमाल दैनिक
‘आमा प्रधानमन्त्री कार्की’को राजीनामा माग्दै जेन–जी प्रदर्शनकारी माइतीघरमा

गत भदौ २३ गतेको नवयुवा (जेन–जी) प्रदर्शनमा भएको हिंसात्मक कारबाही र त्यसपछि उत्पन्न राज्यविहिनता र अराजकतालाई अन्त्य गर्न भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधान बाहिरबाटै भएपनि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई देशको प्रधानमन्त्रीमा नियुक्ति गरे।

विशेषगरी २४ गते देशभरी मच्चिएको लुटपाट, आगजनी र हिंसालाई जेन–जी प्रदर्शनको परिणामको रुपमा लिँदै उनीहरुकै माग र प्रस्ताव बमोजिम आवश्यकताको सिद्धान्तको आवरणमा कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको विघटन गर्दै ६ महिनाभित्र आम निर्वाचन गराउने कार्यभार दिएका थिए।

पूर्वप्रधानन्यायाधीश कार्कीको नियुक्ति पश्चात कतिपय जेन–जी समूहका अगुवाहरुले कार्कीलाई ‘आमा’को संज्ञा दिँदै अब आमाले नै देश चलाउने र मुलुकलाई भ्रष्टाचारको दलदलबाट मुक्ति दिँदै सुशासन, पारदर्शीता र विकासको फल चखाउने दृढ विश्वास व्यक्त गरेका थिए।

तर, उनै जेन–जीकी आमाले सरकारको नेतृत्व लिएको सय दिन अर्थात राजनीतिक भाषामा हनिमुन पिरियड मनाउन पाउँदा नपाउँदै त्यही जेन–जी समूहमध्येबाट ‘आमा प्रधानमन्त्री’को राजीनामा माग्न थालिएको छ। 

जेन–जी समूहका अगुवाका रुपमा परिचित मिराज ढुंगाना नेतृत्वको समूहले काठमाडौंको माइतिघरमा सोमबार प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरे।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै माइतीघरमा जम्मा भएको समूहले प्रदर्शनका क्रममा कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध पनि नाराबाजी गरे।

प्रदर्शनमा सहभागी युवाहरुले प्रधानमन्त्री कार्कीविरुद्ध नाराबाजी गर्ने क्रममा भने, ‘सुशीला तेरो पाराले, दुःख पाए साराले, नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक सरकार राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, जेनजी आन्दोलनमा दमन गर्नेलाई कारवाही गर, जेनजीको माग चूनाव होइन, सुशासन हो, लगाएत नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए।

सो समूहले प्रशासनसंग अनुमति नै नलिइ प्रदर्शनको कार्यक्रम गरेको भन्दै प्रहरी प्रशासनले उनीहरुलाई हटाउन खोजेको थियो। 

सो क्रममा प्रहरीले केहि युवाहरुलाई केहिबेर नियन्त्रणमा लिएको थियो।

वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ। जनतामा राज्यप्रतिको भरोषा कमजोर हुँदै गएकाले युवाहरुलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरुले जनाएका छन्।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update