प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अर्याललाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी रास्वपा सभापति रबि लामिछानेले प्रस्ताव राखेका थिए।
लामिछानेको प्रस्तावलाई रास्वपाका अर्का उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकाशमन्त्री सुनिल लम्सालले समर्थन जनाएका थिए।
अर्यालको विरुद्धमा सदनमा रहेका कुनै पनि दलको तर्फबाट उम्मेदवारी नपरेपछि आजको बैठकमा जेष्ठ सदस्यको हैसियतले सदनको अध्यक्षता गरिरहेका नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संघीय संसद् प्रतिनिधि सभाको सभामुख पदमा सांसद डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्दै आफ्नो व्यक्तिगत र प्रतिनिधि सभाको तर्फबाट बधाई दिए।
नवनिर्वाचित सभामुख अर्याल यसअघि विघटित प्रतिनिधि सभामा रास्वपाबाट मनोनित सदस्यका रुपमा रहेर मन्त्री समेत बनिसकेका छन्।
गत फागुन २१ गतेको निर्वाचनबाट बनेको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित भएका अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिने तयारी भइरहेको छ।
प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते सोमबार दिउँसो १ बजे बस्नेछ।

