सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि सोमबार दिउँसो नयाँ दिल्ली पुगेका छन्।
भाजपा अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा रास्वपा सभापति लामिछाने भारतको राजधानी दिल्ली पुगेका हुन्।
लामिछानेलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।
गत भदौको तेस्रो साता नवयुवाहरुले विभिन्न माग राख्दै गरेको शान्तिपूर्ण विरोध प्रदर्शनले उग्ररुप लिएपश्चात झण्डै झण्डै संविधान नै खारेजीको अवस्थामा पुग्दै गरेको अवस्थामा प्रतिनिधि सभाको विघटनले नयाँ मोड लिएसँगै गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न निर्वाचनमा अनपेक्षित परिणामसहित करिब दुई तिहाई बहुमतकासाथ सरकार गठन गरेको रास्वपाका सभापति लामिछानेलाई भारतीय सत्तारुढ दलले औपचारिक भ्रमणमा बोलाएको थियो।
विगतका परम्परा र अभ्यासमा नेपालमा नयाँ सरकार गठन लगत्तै नवनियुक्त प्रधानमन्त्रीहरुले आफ्नो विदेश भ्रमणको प्रक्रिया भारत भ्रमणबाट सुरु गर्दै आएपनि वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र साहले भ्रमणको कुनै चासो देखाइरहेका छैनन्।
निर्वाचन लगत्तै बसेको संसदको पहिलो अधिवेशनदेखि वैशाख तेस्रो सातादेखि सुरु भएको संसदको बजेट अधिवेशनमा कुनै औपचारिक सम्बोधन नगरेका प्रधानमन्त्री साहले रास्वपा सभापति लामिछानेको भारत भ्रमणको अघिल्लो दिन आइतबार प्रतिनिधि सभामा अचानक उपस्थित हुँदै सभामुखसँग समय लिएर सांसदहरुसँग ठाडो प्रश्नोत्तरको अभ्यास चलाएका थिए।
जहाँ सांसदहरुले भारतीय पक्षबाट भएको नेपालको सीमा अतिक्रमणदेखि बहुचर्चित र विवादस्पद लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय सुरक्षा फौज राखिएको विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री साहले आफ्र प्रधानमन्त्री भएपछि भारतले मात्रै नभएर नेपालले पनि कतिपय स्थानमा भारतीय भूभाग अतिक्रमण गरेका अभिव्यक्ति दिएर लामिछानेको भ्रमणको पूर्वसन्ध्यामा विषयवस्तुलाई थप विवास्पद र रोचक बनाइदिएका थिए।
सभापति लामिछाने भारत प्रस्थान गर्नुअघि त्रिभुवनविमानस्थलमा उपस्थित पत्रकारहरुले प्रतिक्रिया लिन खोज्दा भ्रमणबाट फर्किएपछि बोल्ने बताउँदै उम्किएका थिए।
भारतको भ्रमणका क्रममा सभापति लामिछाने उच्चस्तरिय राजनीतिक भेटवार्ताका अतिरिक्त कुटनीतिक भेटघाट गरी जेठ २२ गते स्वदेश फर्कनेछन् रास्वपाले जनाएको छ।


